आज: २०८३ श्रावण ११, सोमबार | Mon, 27, Jul, 2026
FLASH NEWS

टाइफुन ‘नाउल’का कारण दक्षिणी चीनमा भारी वर्षा र हावाहुरी, सात लाखभन्दा बढी मानिस विस्थापित

परदेशी खबर २०८३ श्रावण १०, आईतबार मा प्रकाशित ( १ दिन अघि) ४६ पाठक संख्या

शक्तिशाली टाइफुन ‘नाउल’ आइतबार बिहान दक्षिणी चीनमा ठोक्किएपछि ग्वाङडोङ प्रान्तसहित आसपासका क्षेत्रमा तीव्र हावाहुरी र भारी वर्षा भएको छ। चीनको राष्ट्रिय मौसम केन्द्रका अनुसार यो वर्ष चीनमा ठोक्किएको यो सबैभन्दा शक्तिशाली टाइफुन हो, जुन आइतबार बिहान ३:५० बजे ग्वाङडोङ प्रान्तको हुइझोउ सहरस्थित हुइडोङ काउन्टीको तटीय क्षेत्रमा प्रवेश गरेको थियो।

बिज्ञापन (Sponsored)

आँधीका कारण हुनसक्ने सम्भावित क्षतिलाई मध्यनजर गर्दै ग्वाङडोङमा सुरक्षाका लागि सात लाख १५ हजारभन्दा बढी मानिसलाई सुरक्षित स्थानमा सारिएको छ। हङकङको मौसम विभागका अनुसार आँधीको केन्द्रनजिक हावाको गति प्रतिघण्टा ११० किलोमिटरसम्म पुगेको थियो। ग्वाङडोङको भित्री भूभागतर्फ अघि बढ्दै गर्दा ‘नाउल’ क्रमशः कमजोर बन्दै गए पनि तटीय क्षेत्रहरूमा धेरै रूखहरू ढलेका छन् भने ठूलो क्षति पुगेको छ।

यस टाइफुनका कारण यातायात सेवा र जनजीवन पूर्ण रूपमा प्रभावित बनेको छ। हङकङ विमानस्थलका करिब ३५० उडानहरू रद्द गरिएका छन् भने प्रान्तका धेरै रेल सेवाहरू पनि स्थगित गरिएका छन्। हङकङ अधिकारीहरूका अनुसार आँधीका कारण सहरभर कम्तीमा नौ जना घाइते भएका छन् भने शनिबार एउटा अग्लो भवनको मचान भत्किए पनि मानवीय क्षति भने हुन पाएन। टाइफुनको प्रभाव फुजियान प्रान्त र ताइवानका दक्षिणी तथा पूर्वी तटीय क्षेत्रहरूमा समेत परेको छ।