काठमाडौँ। लगातारको गर्मी, जलवायु परिवर्तन र तीव्र हावाका कारण फ्रान्स र स्पेनमा डढेलो नियन्त्रणबाहिर फैलिँदा दुवै देशमा गरी २ लाख ५० हजारभन्दा बढी मानिस विस्थापित भएका छन्। विस्थापित हुनेमा फ्रान्सका १ लाख ९७ हजार र स्पेनका करिब ७० हजार नागरिक रहेका छन्।
विशेष गरी फ्रान्सको दक्षिणपश्चिमी वाइन उत्पादनका लागि प्रसिद्ध बोर्डो क्षेत्रमा डढेलोको जोखिम उच्च बनेको छ। अवस्था गम्भीर बनेपछि स्पेनले इतिहासमै पहिलोपटक डढेलोका कारण राष्ट्रिय आपतकाल घोषणा गरेको छ भने फ्रान्सका गृहमन्त्री लरेन्ट नुनेजले यसलाई देशको शान्तिकालकै सबैभन्दा ठूलो सामूहिक विस्थापन हुनसक्ने बताएका छन्। फ्रान्सका केही तटीय क्षेत्रमा आगो समुद्रसम्मै पुगेपछि सर्वसाधारणले डुंगा प्रयोग गरेर ज्यान जोगाएका छन्।
अग्नि नियन्त्रणका लागि दुवै देशमा हजारौँ अग्निनियन्त्रक र सेना परिचालन गरिएको छ। फ्रान्स सरकारले गिरोन्द क्षेत्रको डढेलो निभाउन १ हजार ५ सय सैनिकका साथै विशाल सैन्य मालवाहक विमान ‘एयरबस ए ४००एम एटलस’ र अन्य १८ वटा विमान प्रयोगमा ल्याएको छ। धुवाँको असरबाट बचाउन सर्वसाधारणलाई १५ लाख फेस मास्क वितरण गरिएको छ। स्पेनमा तीव्र हावाका कारण तीनमध्ये दुई ठूला डढेलो एकआपसमा मिसिएर थप भयानक बनेका छन्। शनिबार स्पेनको भ्यालेन्सिया क्षेत्रमा कारभित्र एक व्यक्तिको मृत शरीर फेला परेको पुष्टि भएको छ।
फ्रान्सका प्रधानमन्त्री सेबास्टियन लेकोर्नुले गिरोन्दको डढेलोले आफ्नै हावाको बहाव सिर्जना गर्न थालेको र यो अभूतपूर्व स्तरमा पुगेको बताउँदै नागरिकलाई तत्काल सुरक्षित स्थानमा जान आग्रह गरेका छन्। यता स्पेनकी स्वास्थ्य मन्त्री मोनिका गार्सियाले वायुको गुणस्तर अत्यधिक बिग्रिएकाले राजधानी म्याड्रिडका बासिन्दालाई घरबाहिर ननिस्कन र मास्क प्रयोग गर्न अपिल गरेकी छन्।
यस वर्ष डढेलोका कारण स्पेनमा करिब १ लाख ३० हजार हेक्टर र फ्रान्समा ९८ हजार हेक्टरभन्दा बढी जंगल जलेर नष्ट भइसकेको छ। विज्ञहरूका अनुसार जलवायु परिवर्तनका कारण युरोप विश्व औसतभन्दा दोब्बर गतिमा तातिरहेकाले लामो खडेरी र भीषण डढेलोका घटना बढेका हुन्।
हालको यो संकटसँग जुध्न युरोपेली संघका अन्य देशहरू—क्रोएसिया, चेक गणतन्त्र, ग्रीस, इटाली, नेदरल्यान्ड्स, पोर्चुगल र स्लोभाकियाले पनि पानी बोक्ने विमान र आवश्यक उद्धार सामग्री पठाएर सहयोग गरिरहेका छन्।
