आज: २०८३ श्रावण ११, सोमबार | Mon, 27, Jul, 2026
FLASH NEWS

पूर्वराजालाई भेट्न नपाएपछि शितलनिवास अगाडि आत्मदाह प्रयास गर्ने युवक नियन्त्रणमा

परदेशी खबर २०८३ श्रावण ५, मंगलबार मा प्रकाशित ( ५ दिन अघि) ५० पाठक संख्या

काठमाडौँ। पूर्वराजा ज्ञानेन्द्र शाहलाई भेट्न नपाएको भन्दै काठमाडौँस्थित राष्ट्रपति भवन (शितलनिवास) अगाडि आत्मदाहको प्रयास गर्ने एक युवकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। मंगलबार साँझ रामेछापको दोरम्बा गाउँपालिका–१ निवासी २७ वर्षीय विशाल तामाङले शरीरमा पेट्रोल खन्याएर आत्मदाहको प्रयास गरेलगत्तै सुरक्षाकर्मीले उनलाई तत्काल नियन्त्रणमा लिएका हुन्।

बिज्ञापन (Sponsored)

काठमाडौँको जोरपाटी बस्दै आएका र बालाजुस्थित एक बेकरी उद्योगमा कार्यरत तामाङले जोरपाटीस्थित पेट्रोल पम्पबाट पेट्रोल खरिद गरी शितलनिवास पुगेका थिए। पूर्वराजा ज्ञानेन्द्र शाहलाई भेट्न पटक-पटक प्रयास गर्दा पनि सम्भव नभएपछि निराश भएर आत्मदाहको बाटो रोज्न बाध्य भएको बयान तामाङले प्रहरीसमक्ष दिएका छन्।

जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार तामाङको साथबाट पेट्रोल बरामद गरिएको थियो। नियन्त्रणमा लिएपछि उनलाई शिक्षण अस्पताल लगेर स्वास्थ्य परीक्षण गराउनुका साथै आवश्यक काउन्सेलिङ गराई छाडिएको प्रहरीले जनाएको छ। घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान अगाडि बढाएको छ।