काठमाडौँ — त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि आफैँमाथि पेट्रोल खन्याएर आत्मदाह गरेका गणेश नेपालीकी श्रीमती एकमाया नेपालीले नेपाली नागरिकताको प्रमाणपत्र प्राप्त गरेकी छन्। जिल्ला प्रशासन कार्यालय काठमाडौँमा गृहमन्त्री सुधन गुरूङले उनलाई नागरिकताको प्रमाणपत्र हस्तान्तरण गरेका हुन्।
चार वर्षअघि विवाह भए तापनि एकमायाको अहिलेसम्म नागरिकता र विवाह दर्ता दुवै बनेको थिएन। उनको अवस्थालाई विशेष परिस्थितिका रूपमा लिँदै काठमाडौँबाटै नागरिकता र विवाह दर्ताको प्रमाणपत्र उपलब्ध गराइएको काठमाडौँका प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलले जानकारी दिए। प्रजिअ पौडेलका अनुसार अब उनको राष्ट्रिय परिचय पत्र बनाउने प्रक्रिया समेत अगाडि बढाइनेछ।
राहदानी विभाग अगाडि आत्मदाहको प्रयास गरेका गणेशको गत शुक्रबार उपचारका क्रममा निधन भएको थियो। उनको मृत्युपछि आइतबार सरकार पक्ष र पीडित परिवारबीच ९ बुँदे सहमति भएको छ। सरकारसँग सहमति जुटेसँगै मृतकका परिवारले शव बुझ्न तयार भएका छन्।
