आज: २०८३ श्रावण ११, सोमबार | Mon, 27, Jul, 2026
FLASH NEWS

केपी ओलीको टिप्पणी: ‘चटकको भरमा आएको सरकार चटककै भरमा जान्छ’

परदेशी खबर २०८३ अषाढ २०, शनिबार मा प्रकाशित ( ३ हफ्ता अघि) ७२ पाठक संख्या

काठमान्डौ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकार चटकको भरमा आएको र चटककै भरमा ढल्ने टिप्पणी गर्नुभएको छ। पार्टी कार्यालय च्यासलमा आयोजित ‘पार्टी जागरण अभियान’ को शुभारम्भ गर्दै अध्यक्ष ओलीले एमालेविरुद्ध भइरहेका घेराबन्दी र भ्रमपूर्ण प्रचारको डटेर सामना गर्ने उद्घोष गर्नुभयो।

बिज्ञापन (Sponsored)

अध्यक्ष ओलीले एमालेलाई अलोकप्रिय बनाउन चौतर्फी रूपमा देशद्रोही भाष्य निर्माण गर्न खोजिएको आरोप लगाउँदै त्यसलाई असफल पार्न नेता तथा कार्यकर्ताहरूलाई निर्देशन दिनुभयो। विगतमा एमाले सरकारले सुकुम्बासीहरूलाई धनीपूर्जा वितरण गर्ने अन्तिम तयारी गरेको अवस्थामा अदालतले आयोग नै भङ्ग गरिदिएका कारण काम रोकिएको स्मरण गराउँदै उहाँले यो यथार्थलाई जनता र सुकुम्बासी माझ स्पष्ट रूपमा बुझाउन नसक्नु पार्टीको कमजोरी रहेको स्वीकार गर्नुभयो।

पार्टीभित्र र बाहिरबाट हुने गरेका आलोचनाको जवाफ दिँदै अध्यक्ष ओलीले आफू ५७ वर्षदेखि जेलनेल सहेर पार्टी निर्माणमा लागेको उल्लेख गर्नुभयो। उहाँले नेतृत्वमा रहेका कारण पार्टीको सफलता र असफलता दुवैको जिम्मेवारी लिन आफू तयार रहेको प्रष्ट पार्नुभयो। यद्यपि, पार्टी सफल हुँदा सबैले श्रेय लिने तर विरोधीहरू एकजुट भई धक्का लाग्दा सम्पूर्ण दोष अध्यक्षको टाउकोमा मात्र थुपार्ने प्रवृत्ति न्यायसङ्गत नभएको उहाँको भनाइ थियो। उहाँले समाजमा फैलाइएका लोकतन्त्र विरोधी गतिविधि, अन्योल र भ्रमहरू चिर्न सिंगो पार्टी पंक्ति चनाखो भएर लाग्नुपर्नेमा जोड दिनुभयो।