काठमान्डौ। भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले सहकारी क्षेत्रका ऋणीप्रति कठोर नभएसम्म बचतकर्ताको रकम फिर्ता गर्न सहज नहुने बताएकी छन्।
राष्ट्रियसभाको बैठकमा प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त ‘सहकारी (पहिलो संशोधन) विधेयक, २०८३’ माथि विचार गरियोस् भन्ने प्रस्तावका सम्बन्धमा सांसद्हरूले उठाएका प्रश्नको जवाफ दिँदै मन्त्री रावलले उक्त कुरा बताएकी हुन्। सहकारीबाट ऋण लिएका व्यक्तिहरूबाट रकम असुलउपर गर्न सरकार कठोर नभए सर्वसाधारण बचतकर्ताको पैसा फिर्ता गराउन असम्भव प्रायः हुने उल्लेख गर्दै उनले ऋण उठाउनकै लागि कानुनमा केही कडा प्रावधानहरू राखिएको स्पष्ट पारिन्।
मन्त्री रावलले हजारौँ सहकारी बचतकर्ताको गम्भीर पीडालाई तत्काल सम्बोधन गर्न र उनीहरूलाई राहत दिलाउन सरकारले अध्यादेशमार्फत यो कानुन ल्याउनुपरेको प्रस्ट पारिन्। यसका साथै सहकारीको रकम अपचलन रोक्न र छानबिनलाई प्रभावकारी बनाउन सहकारीसँग जोडिएको परिवारको परिभाषालाई केही बृहत् बनाउनुपर्ने आवश्यकता देखिएकाले सोहीअनुसारको व्यवस्था गरिएको समेत उनले जानकारी दिइन्।
