कुवेत
कुवेतस्थित नेपाली दूतावासको आयोजनामा हिजो (२८ जुन २०२६) कुवेतको ‘क्राउन प्लाजा होटल’ मा “सगरमाथा, विश्वको सर्वोच्च शिखर: नेपालको पहिचान र गौरव” (Sagarmatha, the highest peak of the world: Identity and pride of Nepal) भन्ने नाराका साथ “सगरमाथा दिवस तथा पर्यटन प्रवर्द्धन” कार्यक्रम भव्यताका साथ सम्पन्न भएको छ। यो कार्यक्रम सन् १९५३ मे २९ मा माउन्ट सगरमाथा (एभरेष्ट) मा भएको पहिलो सफल आरोहणको ७३औं वार्षिकोत्सव मनाउन र कुवेतका स्थानीय तथा अन्तर्राष्ट्रिय समुदायमाझ नेपाललाई एक प्रमुख एवं आकर्षक पर्यटकीय गन्तव्यको रूपमा प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गरिएको हो।
नेपाल र कुवेतको राष्ट्रिय धुन बजाएर सुरु गरिएको उक्त कार्यक्रममा नेपालका माननीय परराष्ट्रमन्त्री शिशिर खनालको विशेष भिडियो सन्देश प्रस्तुत गरिएको थियो। कार्यक्रमलाई सम्बोधन गर्दै कुवेतका लागि नेपाली राजदूत महामहिम घनश्याम लम्सालले सगरमाथालाई साहस, दृढ संकल्प, उत्कृष्टता र लचिलोपनको बलियो प्रतीकको रूपमा चित्रण गर्नुभयो। नेपालको समृद्ध जैविक विविधता र प्राकृतिक सौन्दर्यको चर्चा गर्दै उहाँले संस्कृति, प्रकृति, ट्रेकिङ, वन्यजन्तु, साहसिक र आध्यात्मिक पर्यटन जस्ता बहुआयामिक अनुभवहरूका लागि नेपाल सदैव पर्यटकहरूलाई न्यानो स्वागत गर्न तयार रहेको बताउनुभयो। साथै महामहिम राजदूतले हिमालय क्षेत्रको संरक्षण र जलवायु परिवर्तनको चुनौती सामना गर्न सामूहिक प्रयासका लागि आह्वान समेत गर्नुभयो।
कार्यक्रममा दूतावासकी काउन्सिलर सुजनी रानाबाट नेपालको समग्र पर्यटन सम्भावना र यहाँका पर्यटकीय अनुभवहरू समेटिएको एक विशेष प्रस्तुति (Presentation) गरिएको थियो। सो अवसरमा नेपालको प्राकृतिक सौन्दर्य र सांस्कृतिक सम्पदा झल्काउने विभिन्न भिडियोहरू पनि प्रदर्शन गरिएका थिए। कार्यक्रम स्थलमा नेपालको समृद्ध कला र सांस्कृतिक जीवन्तता झल्काउने हस्तकला र अन्य सामग्रीहरूको प्रदर्शनी स्टल राखिएको थियो। कुवेतमा रहेका नेपाली उद्यमीहरूको सहयोग र सहकार्यमा आगन्तुकहरूका लागि प्रामाणिक नेपाली परिकारहरू (Nepali cuisines) पस्किएको थियो भने नेपाली समुदायका कलाकारहरूले नेपालको विविध सांस्कृतिक सम्पदा झल्काउने परम्परागत तथा सांस्कृतिक लोकनृत्यहरू प्रस्तुत गरेका थिए।
उक्त विशेष कार्यक्रममा कुवेतको परराष्ट्र मन्त्रालय, एसियाली मामिला विभागका ‘मन्त्री प्लेनिपोटेन्शियरी’ (Minister Plenipotentiary) महामहिम तारेक जासिम अल यासिन मुख्य अतिथिको रूपमा उपस्थित हुनुहुन्थ्यो। यसका साथै विभिन्न देशका राजदूतहरू, कूटनीतिक नियोगका प्रतिनिधिहरू, ट्राभल तथा टुर कम्पनीका प्रतिनिधिहरू, नेपाली समुदायका अगुवाहरू, पत्रकारहरू, पर्वतारोहीहरू सहित करिब ९० जनाको उपस्थिति रहेको दूतावासले जनाएको छ।
Photo by nirem
