काठमाडौँको कीर्तिपुरस्थित होल्डिङ सेन्टरमा बस्दै आएका एक सुकुम्बासी युवकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। आफूलाई बस्ने आवासको व्यवस्था नगरिए खुकुरी बोकेर सिंहदरबार छिर्ने भन्दै हिंसात्मक अभिव्यक्ति दिएका ३९ वर्षीय डम्बरबहादुर तामाङलाई प्रहरीले पक्राउ गरेको हो।
उनलाई सार्वजनिक शान्तिविरुद्धको कसुर अन्तर्गत अनुसन्धानका लागि नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। केही दिनअघि आक्रोश पोख्दै तामाङले काठमाडौँमा जग्गा उपलब्ध नगराए खुकुरी लिएर सिंहदरबार छिर्ने र हत्या गर्न समेत पछि नपर्ने चेतावनी दिएका थिए। सरकारले आफ्नो टहरामा डोजर चलाएको र हाल बसिरहेको होल्डिङ सेन्टरबाट पनि लखेट्न खोजेको भन्दै उनले सामाजिक सञ्जाल र सार्वजनिक रूपमा आक्रोश व्यक्त गरेका थिए। सोही विवादित र उग्र अभिव्यक्तिका आधारमा उनलाई कानुनी दायरामा ल्याइएको बुझिएको छ।
यसैबीच, विकल्पबिहीन बनाएर नागरिकलाई उग्र अभिव्यक्ति दिन बाध्य पार्ने र पछि सोही बहानामा पक्राउ गर्ने सरकारको कदमप्रति सामाजिक सञ्जालमा भने सर्वसाधारणले गम्भीर प्रश्न उठाउन थालेका छन्। सुकुम्बासी समस्याको दीर्घकालीन समाधान खोज्नुको साटो नागरिकलाई ‘घर न घाटको’ बनाएर कानुनी फन्दामा पारिएको भन्दै सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले सरकारको आलोचना गरिरहेका छन्।
