आज: २०८३ श्रावण ११, सोमबार | Mon, 27, Jul, 2026
FLASH NEWS

पासपोर्ट बिना नेपालमा बस्दै आएका २४ बङ्गलादेशी नागरिक काठमाडौंबाट पक्राउ

परदेशी खबर २०८३ अषाढ १०, बुधबार मा प्रकाशित ( १ महिना अघि) ११४ पाठक संख्या

काठमान्डौ। नेपालमा गैरकानुनी रूपमा बसोबास गर्दै आएका २४ जना बङ्गलादेशी नागरिकलाई प्रहरीले काठमाडौंबाट पक्राउ गरेको छ। विभिन्न समयमा नेपाल प्रवेश गरेर आवश्यक परिचय खुल्ने कागजात, पासपोर्ट तथा वैध बसाइ अनुमति (भिसा) नवीकरण नगरी राजधानीका विभिन्न स्थानमा लुकीछिपी बस्दै आएका उनीहरूलाई प्रहरीले नियन्त्रणमा लिएको हो। पक्राउ परेकामध्ये केही व्यक्तिहरू पर्यटक भिसाको अवधि सकिएपछि पनि नेपालमै बसिरहेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ।

बिज्ञापन (Sponsored)

प्रहरी वृत्त स्वयम्भूबाट खटिएको विशेष टोलीले काठमाडौं महानगरपालिका–१५ स्थित डल्लु र सितापाइला लगायतका क्षेत्रमा सञ्चालन भइरहेका कपडा उद्योग तथा कारखानाहरूमा छापा मार्ने क्रममा उनीहरूलाई फेला पारेको हो। पक्राउ परेका सबै बङ्गलादेशी नागरिकहरू ती कारखानाहरूमा गैरकानुनी रूपमा काम गरिरहेको अवस्थामा नियन्त्रणमा परेका हुन्।

प्रहरीले उनीहरूको नेपाल प्रवेश र बसाइ सम्बन्धी कागजातहरूको थप अनुसन्धान गरिरहेको छ। आवश्यक कानुनी कारबाही र थप प्रक्रियाका लागि पक्राउ परेका सबै जनालाई अध्यागमन विभाग, कालिकास्थान पठाइएको प्रहरीले जानकारी दिएको छ। जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले विदेशी नागरिकको अवैध बसाइ र गतिविधिमाथि निगरानी कडा पारिएको बताउँदै अध्यागमन कानुन उल्लंघन गर्ने जो-कोहीलाई कानुनी दायरामा ल्याइने स्पष्ट पारेका छन्।