आज: २०८३ श्रावण ११, सोमबार | Mon, 27, Jul, 2026
FLASH NEWS

अमेरिका र इरानको पहलपछि इजरायल र हिजबुल्लाबीच युद्धविराम

परदेशी खबर २०८३ अषाढ ६, शनिबार मा प्रकाशित ( १ महिना अघि) १०६ पाठक संख्या

काठमाडौँ । अमेरिका र इरानले गरेको युद्धविरामको प्रयासपछि इजरायल र लेबनानी लडाकु समूह हिजबुल्लाबीच पनि युद्धविराम भएको छ । दुवै पक्षबीच भइरहेको भीषण सैन्य टकरावलाई रोक्न यो कदम चालिएको हो ।

बिज्ञापन (Sponsored)

एक अमेरिकी अधिकारीका अनुसार इजरायलले दक्षिणी लेबनानमा गरेको पछिल्लो आक्रमणमा ४७ जनाको ज्यान गएपछि यो युद्धविरामको सहमति बनेको हो । त्यसअघि हिजबुल्लाको आक्रमणमा परी चार इजरायली सैनिकको मृत्यु भएको थियो । आक्रमण र प्रतिआक्रमणले स्थिति थप तनावपूर्ण बन्दै गएका बेला युद्धविराम भएको बीबीसीले जनाएको छ ।

इजरायली अधिकारीहरूले युद्धविराम भए तापनि तत्कालीन चुनौतीहरूलाई सम्बोधन गर्दै वार्ता अगाडि बढाउने बताएका छन् । यता हिजबुल्लाका तर्फबाट भने युद्धविरामका विषयमा हालसम्म कुनै औपचारिक धारणा सार्वजनिक भइसकेको छैन ।

अमेरिकाले इजरायललाई युद्धविरामका लागि निरन्तर दबाब दिँदै आएको छ । तर, इजरायलका कट्टरपन्थी नेताहरूले भने अझै पनि उत्तेजक अभिव्यक्ति दिन छाडेका छैनन् । इजरायलका राष्ट्रिय सुरक्षामन्त्री इतामार बेन गाभिरले एक इजरायली आमाको आँशुको बदलामा एक हजार लेबनानी आमाको आँशु झर्नुपर्ने भन्दै सार्वजनिक रूपमै कडा अभिव्यक्ति दिएका छन्, जसले गर्दा युद्धविरामको संवेदनशीलता र चुनौती अझै कायम रहेको देखिन्छ ।