काठमान्डौ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको प्रारम्भिक सम्झौतामा आइतबार हस्ताक्षर हुने दाबी गरेका छन्। सामाजिक सञ्जाल ‘ट्रुथ सोसल’ मा एक पोस्ट लेख्दै ट्रम्पले अमेरिकी समयअनुसार आइतबार नै सम्झौतामा हस्ताक्षर हुने तालिका रहेको उल्लेख गरेका हुन्। हस्ताक्षर हुनेबित्तिकै रणनीतिक रूपमा महत्त्वपूर्ण मानिएको हर्मुज जलमार्ग सबैका लागि खुला हुने उनको भनाइ छ। ट्रम्पले इरानले अब आणविक हतियार नचाहेको र कुनै पनि माध्यमबाट त्यस्तो क्षमता हासिल गर्न नपाउने दाबी समेत गरेका छन्। उनले अघिल्ला प्रशासनहरूको तुलनामा वर्तमान अमेरिका–इरान सम्बन्ध निकै राम्रो भएको उल्लेख गर्दै ओबामा प्रशासनले जस्तो सयौं अर्ब डलर नगद इरानलाई नदिइने स्पष्ट पारेका छन्।
ट्रम्पका अनुसार इरानको बाँकी रहेका आणविक भट्टीहरू अमेरिकी बी-२ बमबर्षक विमानबाट ध्वस्त पारिनेछ र इरानसँग भएको ४०० किलो उच्च प्रशोधित युरेनियम (जसलाई उनले आणविक धुलो भनेका छन्) लाई पहाडको सैयौं फिट तलबाट निकालेर अमेरिका वा इरानमै नष्ट गरिनेछ। अमेरिका इरान र मध्यपूर्वसँग काम गर्न आतुर रहेको र सम्झौता चाँडै गर्ने पक्षमा रहेको बताउँदै ट्रम्पले सम्झौता नभएमा आफूहरूसँग अन्तिम विकल्प सुरक्षित रहेको र त्यसको प्रयोग कहिल्यै गर्न नपरोस् भन्ने आशा व्यक्त गरे।
अमेरिका र इरानबीचको युद्ध अन्त्यका लागि मध्यस्थता गरिरहेको पाकिस्तानले पनि २४ घण्टाभित्रै सम्झौता हुने दाबी गरेको छ। पाकिस्तानी प्रधानमन्त्री शहबाज शरिफले शनिबार सामाजिक सञ्जाल ‘एक्स’ मा पोस्ट गर्दै २४ घण्टाभित्र विद्युतीय माध्यमबाट सम्झौतामा हस्ताक्षर हुने बताएका थिए।
तथापि, इरानले भने सम्झौताको सुनिश्चितता र तोकिएको मितिप्रति अझै स्पष्ट जबाफ दिएको छैन। इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बघेईले रोयटर्ससँग कुरा गर्दै ठ्याक्कै मितिका लागि अझै पर्खनुपर्ने र आइतबार नै हस्ताक्षर हुने अवस्था नहुन पनि सक्ने बताएका छन्। यद्यपि उनले आइतबार सम्झौता हुने सम्भावनालाई पूर्ण रूपमा अस्वीकार भने गरेनन्।
रोयटर्सका अनुसार प्रस्तावित समझदारीपत्रमा हर्मुज जलमार्ग (स्ट्रेट अफ हर्मुज) पुनः खोल्ने र इरानी बन्दरगाहमाथिको अमेरिकी नाकाबन्दी हटाउने प्रस्ताव छ, जसमा दुवै पक्ष सहमत देखिएका छन्। युद्धका क्रममा इरानले यो जलमार्ग बन्द गरेपछि अमेरिकाले आफ्नो नौसेना तैनाथ गरी इरानी बन्दरगाहमा नाकाबन्दी लगाएको थियो। सम्झौताअनुसार अमेरिकाले इरानको रोक्का रहेको अर्बौं डलर सम्पत्ति क्रमशः फुकुवा गर्ने र तेल निर्यातमाथिका केही प्रतिबन्ध खुकुलो पार्ने प्रस्ताव गरेको छ, जसको बदलामा इरानले हर्मुज जलमार्गमा जहाज आवागमन खुला गर्नुपर्नेछ। श्रोतहरूका अनुसार प्रस्तावमा तेहरानका लागि सम्भावित युद्ध क्षतिपूर्ति र इरानको क्षेप्यास्त्र कार्यक्रममाथि अमेरिकाले वर्षौंदेखि राख्दै आएको प्रतिबन्धात्मक माग हटाउने विषय पनि समेटिएको छ।
तर, आणविक कार्यक्रमको विषयमा भने दुई देशबीच अझै गम्भीर मतभेद कायमै छ। अमेरिकाले इरानले कहिल्यै पनि परमाणु हतियार बनाउन नपाउने र आफूसँग भएको झन्डै ४०० किलो उच्च समृद्ध युरेनियम अमेरिकालाई हस्तान्तरण गर्नुपर्ने सर्त राखेको छ, जसमा इरान सहमत छैन। आणविक कार्यक्रम र युरेनियमको व्यवस्थापन जस्ता संवेदनशील विषयहरूमा भने आगामी दिनमा छुट्टै वार्ता गर्ने प्रस्ताव समझदारीपत्रमा उल्लेख गरिएको छ।
