आज: २०८३ श्रावण ११, सोमबार | Mon, 27, Jul, 2026
FLASH NEWS

भारतले निर्यातमा कडाइ गरेपछि इलामका ५३ चिया उद्योग असारदेखि बन्द हुने, हजारौँ किसान संकटमा

परदेशी खबर २०८३ जेष्ठ ३१, आईतबार मा प्रकाशित ( १ महिना अघि) ८३ पाठक संख्या

काठमान्डौ। भारत सरकारले नेपाली चिया आयातमा नयाँ र झन्झटिलो नियम लागू गरेपछि नेपालको प्रमुख चिया उत्पादक क्षेत्र इलामका उद्योगहरू बन्द हुने अवस्थामा पुगेका छन्। सूर्योदय अर्थोडक्स टी प्रोड्युसर्स एसोसिएसन नेपालमा आबद्ध ५३ वटा चिया उद्योगले आगामी १ असारदेखि आफ्ना सम्पूर्ण उत्पादन ठप्प पार्ने घोषणा गरेका हुन्। भारतले गत १ मे २०२६ देखि नेपालबाट आयात हुने चियामा ‘स्ट्यान्डर्ड अपरेटिङ प्रोसिड्युर’ (एसओपी) लागू गरेसँगै नेपाली चिया निर्यातमा गम्भीर अवरोध सिर्जना भएको छ।

बिज्ञापन (Sponsored)

नयाँ व्यवस्थाअनुसार भारत लैजाने प्रत्येक गाडीको चिया छुट्टाछुट्टै परीक्षण गर्नुपर्ने र त्यसको प्रतिवेदन आउन २० दिनभन्दा बढी लाग्ने गरेको छ। प्रयोगशालाको नतिजा नआएसम्म चिया बिक्री गर्न पाइँदैन भने परीक्षणमा असफल भए चिया नष्ट गर्नुपर्ने वा फिर्ता ल्याउनुपर्ने बाध्यात्मक व्यवस्था गरिएको छ। यो झन्झटिलो प्रक्रियाका कारण हाल ३ लाख किलोभन्दा बढी नेपाली चिया भारतीय बजार र गोदामहरूमा अलपत्र परेको छ। भारतीय चिया बोर्डले कोलकाता पुगेका नेपाली चियाका ‘कन्साइनमेन्ट’ रोकेर गोदाममै पुगी प्रत्येक बोराको नमुना संकलन गरिरहेको छ। हप्ता दिन बितिसक्दा पनि प्रयोगशालाको प्रतिवेदन नआउँदा चियाको गुणस्तर नै ह्रास हुने र बिग्रिने जोखिम बढेको छ।

निर्यात रोकिँदा नेपाली उद्योगहरूको भण्डारण क्षमतासमेत पूर्ण रूपमा भरिएको छ। हाल उद्योगहरूमा ७ लाख किलोभन्दा बढी तयारी चिया थन्किएर बसेको छ। एसोसिएसनका अध्यक्ष डिल्ली श्रेष्ठका अनुसार उत्पादित चिया बजारमा बिक्री नभएको र भण्डारण गर्ने ठाउँसमेत नरहेकाले उद्योग बन्द गर्नुको विकल्प छैन। चिया बिक्री नभए पनि किसानलाई हरियोपत्तीको भुक्तानी रोक्न नमिल्ने भएकाले उद्योगीहरू थप संकटमा परेका हुन्।

उद्योगहरू बन्द हुने निर्णयसँगै इलामका हजारौँ चिया किसान मारमा परेका छन्। सूर्योदय नगरपालिकामा मात्र २ हजार ९९५ चिया किसान आश्रित छन्, जसले ३३ हजार ६५५ रोपनी क्षेत्रफलमा चियाखेती गर्दै आएका छन्। यहाँबाट वार्षिक २ करोड किलो हरियोपत्ती उत्पादन हुन्छ। उद्योग बन्द भएपछि आफ्नो दैनिक रोजीरोटी नै गुम्ने र परिवार कसरी चलाउने भन्ने चिन्तामा किसानहरू परेका छन्।

यस गम्भीर समस्यालाई समाधान गर्न सूर्योदय नगरपालिकाले तत्काल उच्चस्तरीय कूटनीतिक पहलका लागि परराष्ट्र मन्त्रालयसँग माग गरेको छ। नगरपालिकाका कार्यवाहक प्रमुख दुर्गाकुमार बरालले भारतीय अवरोधका कारण गुणस्तरीय नेपाली चिया नष्ट हुने जोखिम बढेकाले संघीय सरकारले तत्काल कदम चाल्नुपर्ने बताएका छन्। उद्योगी गोपाल कट्टेलले पनि सरकारले समयमै ठोस कूटनीतिक पहल नगरे अर्बौँ रुपैयाँको नेपाली चिया बजार स्थायी रूपमै गुम्ने खतरा औँल्याएका छन्। तत्काल सरकारले भारतसँग वार्ता नगरे पूर्वी नेपालको मुख्य आर्थिक खम्बा मानिएको चिया क्षेत्र पूर्ण रूपमा धराशायी हुने निश्चित देखिन्छ।