आज: २०८३ श्रावण ११, सोमबार | Mon, 27, Jul, 2026
FLASH NEWS

मन्त्री महावीर पुनद्वारा कार्यभार संहाल्दै तीन महत्वपूर्ण निर्णय, भने– ‘मन्त्रालयमा सबै कुरा शून्यबाट सुरु गर्दैछौँ’

परदेशी खबर २०८३ जेष्ठ २८, बिहिबार मा प्रकाशित ( १ महिना अघि) ७७ पाठक संख्या

काठमाडौं। नवनियुक्त विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनले आफ्नो मन्त्रालय अन्य स्थापित मन्त्रालयहरूजस्तो तयारी अवस्थामा नरहेको स्पष्ट पार्दै सबै काम शून्यबाट सुरु गर्नुपर्ने चुनौती रहेको बताएका छन्। पदबहाली गरेकै दिन उनले मन्त्रालयलाई संस्थागत स्वरूप दिन र कार्यसम्पादनलाई गति दिन तीनवटा महत्वपूर्ण निर्णयहरू गरेका छन्।

बिज्ञापन (Sponsored)

मन्त्री पुनका अनुसार नयाँ मन्त्रालयको कामलाई कानुनी वैधानिकता दिन र व्यवस्थित बनाउन ‘विज्ञान प्रविधि तथा नवप्रवर्तन ऐन’ ल्याउने प्रक्रिया तत्काल अगाडि बढाइएको छ। यसका लागि आवश्यक विधेयकको मस्यौदा तयार पार्ने पहिलो निर्णय गरिएको उनले जानकारी दिए।

यसैगरी, नयाँ मन्त्रालयलाई सुचारु रूपमा सञ्चालन गर्न आवश्यक जनशक्ति र कार्यविभाजनको खाका तयार पार्न ‘संगठन तथा व्यवस्थापन सर्वेक्षण (O&M Survey)’ गर्ने दोस्रो निर्णय भएको छ। कार्यसम्पादनलाई छिटो, छरितो र प्रभावकारी बनाउन आवश्यक दरबन्दी निश्चित गर्ने उद्देश्यले यो कदम चालिएको हो।

मन्त्री पुनले गरेको तेस्रो निर्णय अनुसार, हाल विभिन्न मन्त्रालयहरूअन्तर्गत छरिएर रहेका अनुसन्धान तथा नवप्रवर्तनका कार्यहरूलाई एकीकृत गरी एकद्वार प्रणालीबाट अगाडि बढाउन गहन छलफलको थालनी गरिनेछ। सामाजिक सञ्जालमार्फत आफ्नो कार्यशैली र दृढता व्यक्त गर्दै मन्त्री पुनले लेखेका छन्, ‘विज्ञान प्रविधि तथा नवप्रवर्तन मन्त्रालयमा सबै कुरा शून्यबाट सुरु हुँदैछ। यो मन्त्रालय चलाउन अरु मन्त्रालय जस्तो सबै कुरा तयारी अवस्थामा छैनन्। तर हामी दृढताका साथ अघि बढ्छौं, हेर्दै जानुहोला।’