काठमाडौं । राजधानीको बालुवाटारमा आवश्यक अनुमति र कानुनी मापदण्ड पूरा नगरी सञ्चालन भइरहेको ‘मारिया हस्पिटल’ (मारिया हेल्थ सेन्टर प्रालि) मा नेपाल मेडिकल काउन्सिलले सिलबन्दी गरेको छ। अस्पतालमा विदेशी चिकित्सकहरूले विना दर्ता अवैध रूपमा बिरामीको उपचार गरिरहेको फेला परेपछि काउन्सिलले तत्काल एक्सन लिएको हो।
काउन्सिलले गरेको आकस्मिक स्थलगत अनुगमनका क्रममा उक्त अस्पतालले स्वास्थ्य संस्था सञ्चालनका लागि चाहिने कुनै पनि कानुनी प्रक्रिया पूरा नगरेको र क्लिनिकल मापदण्डसमेत उल्लङ्घन गरेको पाइएको थियो। थप गम्भीर कुरा त, नेपालमा चिकित्सा अभ्यास गर्नका लागि अनिवार्य मानिने दर्ता तथा नेपाल मेडिकल काउन्सिलको अनुमति नै नलिएका विदेशी चिकित्सकहरूलाई प्रयोग गरेर त्यहाँ सर्वसाधारणको स्वास्थ्य परीक्षण र उपचार सेवा सञ्चालन भइरहेको फेला परेको थियो।
प्रचलित स्वास्थ्य सेवा ऐन तथा चिकित्सा व्यवसायसम्बन्धी मापदण्डको धज्जी उडाउँदै अवैध धन्दा चलाएको निष्कर्ष निकाल्दै काउन्सिलले हस्पिटलमा तालाबन्दी (सिलबन्दी) गरेको बिहीबार जारी विज्ञप्तिमा उल्लेख छ। काउन्सिलले यस घटनालाई गम्भीर रूपमा लिँदै संलग्न व्यक्ति र संस्थामाथि थप छानबिन गरी कडा कानुनी कारबाहीको प्रक्रिया अगाडि बढाइसकिएको स्पष्ट पारेको छ।
यस घटना सार्वजनिक भएसँगै मेडिकल काउन्सिलले आम सर्वसाधारणलाई स्वास्थ्य सेवा लिनुअघि आफू जान लागेको स्वास्थ्य संस्था र त्यहाँ कार्यरत चिकित्सकको वैधानिकता एवं दर्ता स्थिति अनिवार्य रूपमा यकिन गर्न जोडदार अपिल गरेको छ। आगामी दिनमा अनुमतिविहीन अस्पताल र गैरदर्तावाला चिकित्सकहरूमाथिको अनुगमन र कारबाहीलाई अझ तीव्र बनाइने प्रतिबद्धता समेत काउन्सिलले जनाएको छ।
देशको राजधानीकै मुटु मानिने बालुवाटार जस्तो ठाउँमा स्वास्थ्य जस्तो संवेदनशील क्षेत्रमा यसरी विना अनुमति र अवैध चिकित्सक राखेर अस्पताल चल्नुले नियामक निकायहरूको नियमित अनुगमनमाथि गम्भीर प्रश्न खडा गरिदिएको छ। यस्ता संवेदनशील विषयमा सरोकारवालाहरूले कानुनी छिद्रको फाइदा उठाउनेहरूमाथि निर्मम भएर कडा निगरानी राख्न सरकारसँग माग गरेका छन्।
