काठमान्डौ। नेपाली महिला क्रिकेट टोली एसीसी महिला प्रिमियर कपको क्वार्टरफाइनलमा थाइल्यान्डसँग ५६ रनले पराजित भएको छ । मलेसियामा जारी प्रतियोगिताको महत्वपूर्ण खेलमा पराजय भोगेसँगै नेपालको आगामी ‘महिला एसिया कप २०२६’ मा छनोट हुने सपना अधुरै बनेको छ । दुई साताअघि मात्र एसियन गेम्सको छनोट दौडबाट बाहिरिएको नेपालका लागि एसिया कपमा स्थान सुरक्षित गर्न यस प्रिमियर कपको सेमिफाइनलमा पुग्नै पर्ने दबाब थियो, तर बलियो प्रतिद्वन्द्वी थाइल्यान्ड बाधक बनिदियो । यस जितसँगै थाइल्यान्डले भने एसिया कप २०२६ मा आफ्नो स्थान सुरक्षित गरिसकेको छ ।
बुधबार बिहान वायुमास ओभलमा भएको खेलमा थाइल्यान्डले दिएको १३१ रनको चुनौतीपूर्ण लक्ष्य पछ्याएको नेपालले निकै फितलो ब्याटिङ प्रदर्शन गर्यो । निर्धारित २० ओभर पूरा खेल्दा नेपालले ७ विकेट गुमाएर मात्र ७४ रन जोड्न सक्यो । नेपालका लागि रुबिना क्षेत्रीले सर्वाधिक २० रन बनाउँदै अविजित रहिन् भने सोनी पाख्रिनले १५, सीता रानामगरले १२ र सम्झना खड्काले ११ रनको योगदान दिए । टोलीका अन्य कुनै पनि ब्याटरले दोहोरो अंकको स्कोर छुन सकेनन् । नेपाललाई कम स्कोरमा रोक्न थाइल्यान्डकी कसिलो बलिङ गरेकी थिपात्चा पुथावङले ४ ओभरमा मात्र ७ रन खर्चेर २ विकेट लिइन् । त्यस्तै, सुनिदा चतुरोङरतना र सुलिपर्न लाओमीले पनि समान २–२ विकेट चट्काए ।
यसअघि टस जितेर पहिले ब्याटिङ रोजेको थाइल्यान्डले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १३० रनको बलियो योगफल तयार पारेको थियो । थाइल्यान्डको इनिङ्स सम्हाल्ने क्रममा नानापत कोन्चारोन्काइले ५१ बलमा अविजित ६३ रनको उत्कृष्ट अर्धशतकीय पारी खेलिन् । त्यस्तै फनिता मायाले २६ र चनिदा सुथिराङले १६ रनको योगदान दिएका थिए । नेपालका तर्फबाट बलिङमा कविता कुँवर, रिया शर्मा र रुबिना क्षेत्रीले समान १–१ विकेट लिए पनि त्यो जितका लागि पर्याप्त हुन सकेन । सन २०२४ को एसिया कप खेलेको नेपाल यसपटक भने प्रिमियर कपको क्वार्टरफाइनलबाटै बाहिरिन पुगेको छ ।
