काठमान्डौ। नेपाली कांग्रेसका नेता एवं निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले प्रधानमन्त्री बालेन शाहले प्रतिनिधि सभामा दिएको अभिव्यक्तिप्रति तीव्र आपत्ति जनाउनुभएको छ। प्रधानमन्त्री शाहले जेठ १७ गते प्रतिनिधि सभामा ‘नेपालले भारतको जग्गा मिचेको रहेछ’ भनी दिएको अभिव्यक्ति असत्य, भ्रामक, कपोकल्पित र राष्ट्रघाती रहेको खड्काले उल्लेख गर्नुभएको छ।
सोमबार एक विज्ञप्ति जारी गर्दै नेता खड्काले प्रधानमन्त्रीको यस्तो गैरजिम्मेवारपूर्ण अभिव्यक्तिले देशको सार्वभौमिकता, भौगोलिक अखण्डता, राष्ट्रको मर्यादा र नेपालीको स्वाभिमानमा गम्भीर आघात पुर्याएको बताउनुभएको छ।
विज्ञप्तिमा खड्काले नेपालले कुनै पनि स्थानमा भारतको भूमि अतिक्रमण नगरेको स्पष्ट पार्नुभएको छ। ‘नेपालले भारतको भूमि अतिक्रमण गरेको भनेर स्वयं भारतले समेत कहिल्यै दाबी नगरेको अवस्थामा मुलुकको प्रधानमन्त्रीबाटै यस्तो गैरजिम्मेवार बयान आउनु दुर्भाग्यपूर्ण र आपत्तिजनक छ,’ उहाँले भन्नुभएको छ।
मुलुकको राष्ट्रियता र सीमा जस्तो संवेदनशील विषयमा जिम्मेवार पदमा रहेका व्यक्तिबाट तथ्यहीन र मुलुकको हितविपरीतका कुराहरू आउनु निन्दनीय भएको भन्दै कांग्रेस नेता खड्काले यसप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउनुभएको छ।

