आज: २०८३ श्रावण ११, सोमबार | Mon, 27, Jul, 2026
FLASH NEWS

कुलमान घिसिङको आपत्ति: रास्वपा सभापतिको भारत भ्रमणअघि प्रधानमन्त्रीको अभिव्यक्ति सन्देहास्पद

परदेशी खबर २०८३ जेष्ठ १८, सोमबार मा प्रकाशित ( १ महिना अघि) ७३ पाठक संख्या

काठमान्डौ। उज्यालो नेपाल पार्टी (उनेपा)का अध्यक्ष कुलमान घिसिङले सीमा विवादका सम्बन्धमा प्रधानमन्त्री बालेन्द्र शाहले हालै संसदमा दिएको अभिव्यक्तिप्रति गम्भीर आपत्ति जनाएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापतिको आसन्न भारत भ्रमणको पूर्वसन्ध्यामा प्रधानमन्त्रीबाट यस्तो टिप्पणी आउनु सन्देहास्पद र रहस्यमय भएको उनले बताएका छन् ।

बिज्ञापन (Sponsored)

‘नेपालले पनि भारतको भूमि मिचेको’ भन्ने प्रधानमन्त्री शाहको भनाइप्रति लक्षित गर्दै अध्यक्ष घिसिङले सामाजिक सञ्जालमार्फत आफ्नो कडा प्रतिक्रिया सार्वजनिक गरेका हुन् । नेपालले ऐतिहासिक दस्तावेज, नक्सा, सन्धि र तथ्य–प्रमाणका आधारमा आफ्नो प्रामाणिक अडान राख्दै आएको परिप्रेक्ष्यमा देशको कार्यकारी प्रमुखबाटै यस्तो गैरजिम्मेवार अभिव्यक्ति आउनु दुर्भाग्यपूर्ण भएको उनको ठहर छ ।

घिसिङले आफ्नो स्टाटसमा लेखेका छन्, “ऐतिहासिक तथ्य र प्रमाणका आधारमा नेपालले आफ्नो अडान स्पष्ट रूपमा राख्दै आएको अवस्थामा, सार्वभौम राष्ट्रको प्रधानमन्त्रीले संसदजस्तो सर्वोच्च मञ्चबाट दिएको यस्तो अभिव्यक्तिले नेपालको राष्ट्रिय अडानलाई कमजोर बनाउँछ ।”

प्रधानमन्त्रीको यस्तो असंवेदनशील भनाइले अन्तर्राष्ट्रिय स्तरमा ठूलो भ्रम सिर्जना गर्ने र नेपालले विगतदेखि उठाउँदै आएको वैध एवं न्यायसंगत दावीलाई समेत गम्भीर असर पुर्‍याउने जोखिम पैदा गरेको घिसिङले उल्लेख गरेका छन् ।

रास्वपाकै वरिष्ठ नेतासमेत रहेका प्रधानमन्त्रीले आफ्नै दलका सभापतिको भारत भ्रमण हुनु ठीक अगाडि यस्तो टिप्पणी गर्नुले विभिन्न संशय र प्रश्नहरू जन्माएको घिसिङको भनाइ छ । उनले प्रधानमन्त्री शाहले कुन आधार, सन्दर्भ र तथ्यमा टेकेर यस्तो अभिव्यक्ति दिएका हुन्, सो कुरा तत्काल देश र जनतासमक्ष स्पष्ट पार्नुपर्ने माग समेत गरेका छन् ।

सीमा समस्या कुनै भावनात्मक आवेग वा अनुमानका भरमा नभई ऐतिहासिक तथ्य, पुराना सन्धि–सम्झौता र विज्ञहरूको प्राविधिक अध्ययनका आधारमा मात्र समाधान गरिनुपर्नेमा उनले जोड दिएका छन् ।

राष्ट्रिय हित र सार्वभौमिकता जस्तो संवेदनशील विषयमा राज्यको नेतृत्वबाट अस्पष्टता नभई दृढता र जिम्मेवारीपनको अपेक्षा गरिने उल्लेख गर्दै अध्यक्ष घिसिङले सीमा सम्बन्धी विषय कुनै दल वा व्यक्तिको नभई सम्पूर्ण राष्ट्र र आम नेपालीको साझा चासोको विषय भएको स्पष्ट पारेका छन् ।