आज: २०८३ श्रावण ११, सोमबार | Mon, 27, Jul, 2026
FLASH NEWS

फिलिपिन्समा निर्माणाधीन भवन भत्किँदा तीन जनाको मृत्यु, १७ जना अझै बेपत्ता

परदेशी खबर २०८३ जेष्ठ ११, सोमबार मा प्रकाशित ( २ महिना अघि) १०८ पाठक संख्या

काठमाडौँ । फिलिपिन्सको राजधानी मनिला नजिकै रहेको एन्जलस सहरमा एक बहुमञ्जिला निर्माणाधीन भवन भत्किँदा कम्तीमा तीन जनाको मृत्यु भएको छ भने अन्य १७ जना अझै बेपत्ता भएका छन्। दुर्घटनापछि भग्नावशेषमुनि जीवित मानिसहरू रहेको सङ्केत फेला परेपछि उद्धार कार्यलाई तीव्र पारिएको छ।

बिज्ञापन (Sponsored)

फिलिपिन्सको अग्नि नियन्त्रण विभागका अनुसार दुर्घटनाको लगत्तै दुई जनालाई जीवितै उद्धार गरिएको थियो। तर, तीमध्ये एक जनाको अस्पतालमा उपचारका क्रममा मृत्यु भयो भने अर्का एक जनालाई बाहिर निकाल्नुअघि नै हृदयघात भएको थियो। उद्धार टोलीले भग्नावशेषभित्र अर्को एक शव फेला पारेको र त्यसलाई निकाल्ने प्रयास भइरहेकाले आधिकारिक मृतकको सङ्ख्या अझै बढ्न सक्ने अनुमान गरिएको छ।

अग्नि नियन्त्रण विभागकी सूचना अधिकारी मारिया लिया साजिलीले सञ्चारमाध्यमलाई दिएको जानकारी अनुसार भग्नावशेषमुनिबाट अझै पनि मानिसहरूको श्वासप्रश्वास र मुटुको धड्कनजस्ता सकारात्मक सङ्केतहरू प्राप्त भइरहेका छन्। जसका कारण थप मानिसलाई जीवितै उद्धार गर्न सकिने आशा पलाएको छ।

स्थानीय प्रशासनका अनुसार बेपत्ता हुनेहरूमा अधिकांश निर्माण कार्यमा संलग्न मजदुरहरू रहेका छन्। सामान्यतया उक्त निर्माणस्थलमा करिब ७० जना कामदार कार्यरत रहने भए तापनि सप्ताहान्त (वीकेन्ड) का कारण धेरैजसो घर फर्किसकेकाले ठुलो मानवीय क्षति हुनबाट जोगिएको बताइएको छ। दुर्घटनाको समयमा भवन नजिकैको अस्थायी शिविरमा सुतिरहेका ५५ वर्षीय कामदार अल्फ्रेडो अल्बिसले आफ्ना दुई भाइहरू अझै भग्नावशेषमा फसेको र उनीहरूको अवस्था अज्ञात रहेको भन्दै चिन्ता व्यक्त गरेका छन्।

उद्धार कार्य अत्यन्तै संवेदनशील र जोखिमपूर्ण बनेको अधिकारीहरूले जनाएका छन्। भग्नावशेषको सानो हलचलले पनि बाँकी संरचना खस्न सक्ने र भित्र फसेका तथा उद्धारकर्मीकै ज्यान जोखिममा पर्न सक्ने भएकाले भारी उपकरणको सट्टा हातैले सावधानीपूर्वक ढुङ्गा र डन्डीहरू पन्छाउने काम भइरहेको छ। भित्र कोही पनि जीवित नरहेको निश्चित भएपछि मात्र डोजर तथा अन्य ठुला मेसिनहरू प्रयोग गरिने बताइएको छ।

भवन भत्किनुको वास्तविक कारण अझै खुल्न सकेको छैन। एन्जलस सहरका मेयर कार्मेलो लाजातिनले घटनाको उच्चस्तरीय अनुसन्धान सुरु गरिएको जानकारी दिँदै भवन मालिकसँग सम्पर्क गरी घटनाको समयमा उपस्थित कामदारहरूको यकिन विवरण सङ्कलन भइरहेको बताएका छन्। यता, उद्धार कार्य सुस्त भएको भन्दै आफ्ना आफन्तको पर्खाइमा रहेका पीडित परिवारहरूमा निराशा र आक्रोश बढ्न थालेको छ।