काठमान्डौ। शिक्षा तथा खेलकुद मन्त्रालयले कक्षा १२ को परीक्षाफल ४५ दिनभित्र प्रकाशित गर्न निर्देशन दिए पनि राष्ट्रिय परीक्षा बोर्डका मुख्य पदाधिकारी नै भ्रमणमा निस्किएपछि तोकिएको समयमा नतिजा आउनेमा आशंका उब्जिएको छ। परीक्षाफल प्रकाशन गर्ने मुख्य भूमिकामा रहेका बोर्डका सदस्यसचिव जंगबहादुर अर्याल यतिबेला जम्बो टोली लिएर कोशी प्रदेशको भ्रमणमा निस्किएका छन्। हाल बोर्डमा अध्यक्ष पद रिक्त रहेकाले परीक्षा सम्बन्धी सम्पूर्ण जिम्मेवारी सदस्यसचिवकै काँधमा छ। यस्तो संवेदनशील समयमा उनी बोर्डका योजना महाशाखाका प्रमुख लगायतका कर्मचारीहरूलाई लिएर इटहरी र धनकुटातर्फ लागेपछि बोर्डभित्रै असन्तुष्टि बढेको छ।
सरकारले इन्धन र यातायातमा मितव्ययिता अपनाउने नीति लिए पनि सदस्यसचिव अर्यालले भने हवाईजहाज र अध्यक्षले प्रयोग गर्ने सवारी साधनसहित थप गाडीको व्यवस्थापन गरेर टोली ओसारेका छन्। प्राविधिक विद्यार्थीको परीक्षा कार्यक्रमको बहानामा एक जना प्राविधिकले गर्ने कामका लागि सहसचिव भास्कर दत्त पन्त, उपसचिव पुस्कल खनाल, धनपति भेटवाल, शाखा अधिकृत लक्ष्मी अधिकारी र जीआईएस विज्ञ नारायण पोखरेलसहितको टोली इटहरी पुगेको हो। विराटनगरमा बोर्डको प्रदेश कार्यालय हुँदाहुँदै इटहरीमा कार्यक्रम राखेर दुःख दिने काम गरिएको र भत्ताकै लागि हरेक हप्ताको अन्त्यमा उपत्यका बाहिर जाने परिपाटी बसेको कर्मचारीहरूको आरोप छ।
यसअघि कक्षा १० को परीक्षाफल २९ दिनमै प्रकाशित गरेर प्रशंसा कमाएको बोर्डले कक्षा १२ मा भने उस्तै तदारुकता देखाउन सकेको छैन। बोर्ड स्रोतका अनुसार सबै महाशाखा प्रमुखहरूलाई कामविहीन बनाएर मुख्य नेतृत्व नै भ्रमणमा मस्त भएपछि ४५ दिने कार्यतालिका प्रभावित हुने निश्चितप्रायः छ। सदस्यसचिवको यस्तो गतिविधिबारे बोर्डका उपाध्यक्ष एवं शिक्षा सचिव चूडामणि पौडेललाई जानकारी गराउँदा समेत मन्त्रालयले कुनै ठोस कदम चालेको छैन। सुशासनको नारा लगाउने मन्त्री र जिम्मेवार सचिव नै मौन बस्दा मन्त्रालयको दबाब केवल औपचारिकतामा मात्र सीमित हुने देखिएको छ।
