संयुक्त अरब इमिरेट्स / नेपाली राजदूतावास, अबुधाबीको आयोजनामा मिति २०८३ जेठ ९ गते (२३ मे २०२६) शनिबारका दिन अबुधाबीस्थित मुशाफ्फा–१७ को ‘कोर लेबर रेसिडेन्सियल एरिया’ (Core Labour Residential Area) मा “श्रमिकसँग श्रम संवाद तथा श्रम सचेतना कार्यक्रम” भव्यताका साथ सम्पन्न भएको छ।
उक्त विशेष कार्यक्रममा श्रम सहचारी श्री पंकज लाभ कर्ण, नेपाल सरकार परराष्ट्र मन्त्रालय अन्तर्गतको कन्सुलर सेवा विभागका शाखा अधिकृत श्री ज्ञानहरि ज्ञवाली, दूतावासका तृतीय सचिव श्री विमलेश कुमार मिश्र तथा कन्सुलर सेवा विभागका नायब सुब्बा श्री आदर्श गोहिबार लगायतको उपस्थिति रहेको थियो।

कार्यक्रममा सहभागी नेपाली श्रमिकहरूलाई संयुक्त अरब इमिरेट्स (UAE) को श्रम कानून, नेपालको श्रम कानून, सुरक्षित वैदेशिक रोजगारी, श्रमिकका अधिकार तथा कर्तव्य र सामाजिक सुरक्षा कोष (SSF) लगायतका विविध महत्त्वपूर्ण विषयहरूमा विस्तृत जानकारी प्रदान गरिएको थियो। त्यसैगरी, प्रविधिको प्रयोगलाई सहज बनाउने उद्देश्यले श्रमिकहरूलाई Mohre App, SSF App तथा नागरिक एप डाउनलोड र प्रयोग गर्ने व्यावहारिक तरिकाहरू सिकाइएको थियो, जसलगत्तै अधिकांश सहभागी श्रमिकहरूले आफ्ना मोबाइलमा यी एपहरू स्थापना (Install) समेत गरेका थिए।
अन्तरक्रियाका क्रममा राहदानी (Passport) तथा विभिन्न कन्सुलर सेवाहरू, दूतावासबाट उपलब्ध हुने सेवा–सुविधा र अनलाइन प्रणालीमार्फत सेवा लिने प्रक्रियाका बारेमा श्रमिकहरूलाई सचेत गराइएको थियो। साथै, दूतावासका प्रतिनिधिहरूले श्रमिकहरूलाई गर्मी मौसममा स्वास्थ्यको विशेष ख्याल राख्न, पर्याप्त मात्रामा पानी पिउन, मदिरा तथा लागू पदार्थको सेवनबाट टाढै रहन र आफूले आर्जन गरेको रकम सुरक्षित रूपमा बैंकिङ च्यानलमार्फत मात्र नेपाल पठाउन आग्रह गर्नुभयो।

श्रमसम्बन्धी कुनै पनि समस्या, तलब वा सेवा–सुविधा नपाएमा श्रमिकहरूले कन्सुलर सेवा विभागको आधिकारिक अनलाइन पोर्टल https://legal.nepalconsular.gov.np/ मार्फत सजिलै उजुरी दर्ता गरी कानुनी सहायता प्राप्त गर्न सक्ने जानकारी समेत कार्यक्रममा दिइएको थियो।
नेपाली दूतावास आफ्नै कार्यस्थल र आवास क्षेत्रमा पुगेर प्रत्यक्ष संवाद गरेकोमा खुशी व्यक्त गर्दै सहभागी श्रमिकहरूले कार्यक्रम अत्यन्तै उपयोगी, जानकारीमूलक र प्रभावकारी रहेको बताएका थिए। उनीहरूले यहाँ सिकेका कुराहरूलाई व्यवहारमा लागू गर्ने र अन्य नेपाली श्रमिक साथीहरूलाई समेत यसबारे जानकारी गराउने प्रतिबद्धता व्यक्त गरे।
