आज: २०८३ श्रावण ११, सोमबार | Mon, 27, Jul, 2026
FLASH NEWS

चीनको कोइला खानीमा भीषण विस्फोट: कम्तीमा ९० जनाको मृत्यु, उद्धार कार्य जारी

परदेशी खबर २०८३ जेष्ठ ९, शनिबार मा प्रकाशित ( २ महिना अघि) १०० पाठक संख्या

काठमाडौँ । चीनको शान्सी प्रान्तस्थित एक कोइला खानीमा भीषण विस्फोट हुँदा कम्तीमा ९० जना मजदुरको मृत्यु भएको छ । यो घटनालाई चीनमा पछिल्लो एक दशकयताकै सबैभन्दा ठूलो कोइला खानी दुर्घटना मानिएको छ ।

बिज्ञापन (Sponsored)

सरकारी समाचार संस्था सिन्ह्वाका अनुसार राजधानी बेइजिङबाट करिब ५२० किलोमिटर दक्षिणपश्चिममा पर्ने किनयुआन काउन्टीमा शुक्रबार यो दर्दनाक दुर्घटना भएको हो । खानीभित्र कार्बन मोनोअक्साइड ग्यासको मात्रा बढेको चेतावनी जारी भएको केही समयमै शक्तिशाली विस्फोट भएको थियो । विस्फोटको समयमा खानीभित्र कुल २४७ जना मजदुर कार्यरत थिए ।

दुर्घटनाको सुरुवातमा चिनियाँ सरकारी सञ्चारमाध्यमहरूले ८ जनाको मात्र मृत्यु भएको र २०० भन्दा बढी मजदुरलाई सुरक्षित निकालिएको दाबी गरेका थिए । तर, केही समयको अन्तरालमै मृतकको संख्या अचानक बढेर ८२ हुँदै ९० पुगेको समाचार सार्वजनिक भयो । छोटो समयमै मृतकको संख्या यसरी कसरी बढ्यो भन्नेबारे चिनियाँ अधिकारीहरूले स्पष्ट जानकारी दिएका छैनन् । खानीभित्र अझै कति मजदुर फसेका छन् भन्ने यकिन हुन नसकेकाले मृतकको संख्या थप बढ्न सक्ने अनुमान गरिएको छ ।

घटना लगत्तै चिनियाँ राष्ट्रपति सी जिनपिङले उद्धार टोलीलाई बेपत्ता मजदुरहरूको खोजी र उद्धारमा सम्पूर्ण शक्ति परिचालन गर्न निर्देशन दिएका छन् । उनले यस घटनाबाट पाठ सिक्दै कार्यस्थलको सुरक्षामा विशेष ध्यान दिन र जोखिमको गम्भीर मूल्यांकन गर्न सबै सरकारी निकायहरूलाई सचेत गराएका छन् । साथै, दुर्घटनाका दोषीमाथि कडा कारबाही गरिने प्रतिबद्धता समेत उनले व्यक्त गरे ।

त्यसैगरी चिनियाँ प्रधानमन्त्री ली छ्याङले पनि उद्धार कार्यलाई तीव्र बनाउन र घटनाको निष्पक्ष अनुसन्धान गर्न आग्रह गरेका छन् । दुर्घटनाको अनुगमन र उद्धार अभियानको नेतृत्व गर्न उपप्रधानमन्त्री झाङ गुओछिङसहित स्थानीय प्रशासनका वरिष्ठ अधिकारीहरू घटनास्थलमै खटिएका छन् ।

चीनमा खानी सुरक्षासम्बन्धी नियमहरू कडा बनाइए तापनि उत्पादन बढाउने दबाब र सुरक्षा मापदण्डमा हुने लापरवाहीका कारण यस्ता दुर्घटनाहरू बारम्बार दोहोरिने गरेका छन् । यसअघि सन् २०२३ को फेब्रुअरीमा इनर मङ्गोलियास्थित एक खुला खानीमा पहिरो जाँदा ५३ जना मजदुरले ज्यान गुमाएका थिए । हाल यस घटनाको वास्तविक कारण पत्ता लगाउन चिनियाँ अधिकारीहरूले विस्तृत अनुसन्धान गरिरहेका छन् ।