काठमाडौं, ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–७ मा अवस्थित नेपाल-चीन सीमा जोडिएको महत्त्वपूर्ण व्यापारिक नाका ओलाङचुङ्गोला (टिप्ताला भन्सार) पुनः सञ्चालनमा आएको छ। लामो समयदेखि कर्मचारी अभावका कारण बन्द प्रायः रहेको यो भन्सार कार्यालयमा आवश्यक कर्मचारी व्यवस्थापन भएसँगै नाका नियमित सञ्चालनमा आएको हो।
विगतमा ओलाङचुङ्गोलाका स्थानीय कार्यालय सहयोगीको भरमा मात्र चल्दै आएको यो भन्सार, कोभिड–१९ महामारीको सुरुवातसँगै पूर्ण रूपमा ठप्प बनेको थियो। हाल भन्सार विभागले नायब सुब्बा प्रदीप धिताललाई कार्यालय प्रमुखको रूपमा खटाएपछि यस नाकाबाट हुने व्यापारिक गतिविधि र भन्सारको काम औपचारिक रूपमा सुरु भएको वडाध्यक्ष छेतेन लामाले जानकारी दिए।
नेपालको पूर्वी क्षेत्रबाट चीनको स्वशासित क्षेत्र तिब्बतलाई जोड्ने सबैभन्दा छोटो व्यापारिक मार्गका रूपमा ओलाङचुङ्गोलालाई लिइन्छ। ओलाङचुङ्गोला बस्तीबाट २४ किलोमिटरको दूरी पार गरेपछि नेपाल-चीन सीमानाको टिप्ताला भन्सार पुग्न सकिन्छ। यो नाका सडक सञ्जालसँग जोडिएसँगै अब नियमित रूपमा राजस्व सङ्कलन हुने अपेक्षामा स्थानीय बासिन्दा तथा व्यापारीहरू उत्साहित भएका छन्।
भन्सार कार्यालय पुनः सञ्चालनमा आए पनि करिब ४० वर्षअघि निर्माण गरिएको यसको मुख्य प्रशासनिक भवन भने हाल जीर्ण अवस्थामा पुगेको छ। आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत नयाँ भवन निर्माण तथा भन्सार सञ्चालनका लागि आवश्यक भौतिक सामग्रीको व्यवस्थापन गरिदिन अर्थ मन्त्रालय र भन्सार विभागसँग अनुरोध गरिएको स्थानीय जनप्रतिनिधिहरूले बताएका छन्। यस नाकामा कर्मचारी पठाउनका लागि जिल्लाका युवा अभियन्ताहरूले भन्सार विभागमा पटक-पटक दबाब दिँदै आएका थिए।
