काठमाडौं । नारायणहिटी दरबार सङ्ग्रहालय विकास समिति परिसरभित्र झन्डै ४५ करोड रुपैयाँको लागतमा निर्माण गरिएको भौतिक पूर्वाधार ६ वर्ष बितिसक्दा पनि सञ्चालनमा आउन सकेको छैन । गणतन्त्र स्मारक क्षेत्रमा निर्माण भएको आधुनिक सभाहल र चमेनागृह (क्याफेटेरिया) निर्माण सम्पन्न भई हस्तान्तरण भएको लामो समय बितिसक्दा पनि प्रयोगविहीन अवस्थामा रहँदा सरकारी लगानी बालुवामा पानी जस्तै बनेको छ ।
शहरी विकास तथा भवन निर्माण विभागले कुल ४४ करोड ९१ लाख ५३ हजार रुपैयाँको लागतमा यी संरचनाहरूको निर्माण कार्य सम्पन्न गरेको थियो । निर्माण कार्य सकिएपछि विभागले २०७६ साल माघ ३ गते नै उक्त संरचनाहरू नारायणहिटी दरबार सङ्ग्रहालय विकास समितिलाई हस्तान्तरण गरेको थियो । तर, हस्तान्तरण भएको ६ वर्ष पुगिसक्दा पनि व्यवस्थापकीय जिम्मेवारी र सञ्चालन कार्यविधि नबन्दा ती हल र चमेनागृह प्रयोगमा आउन नसकेका हुन् । राज्यको ठुलो धनराशिको लगानी भएर पनि संरचनाहरू अलपत्र परेपछि महालेखापरीक्षकको ६३औँ वार्षिक प्रतिवेदनले समेत यसलाई गम्भीरतापूर्वक लिँदै उक्त सभाहल र चमेनागृह तत्काल सञ्चालनमा ल्याउन समितिलाई स्पष्ट निर्देशन दिएको छ ।
कुल ३५ रोपनी क्षेत्रफलमा फैलिएको गणतन्त्र स्मारक क्षेत्रभित्र यी संरचनाहरू निर्माण गरिएका हुन् । नारायणहिटी सङ्ग्रहालय परिसरभित्र केवल सभाहल र चमेनागृह मात्र नभई भूमिगत पार्किङ, शहीदप्रतिको सम्मानमा निर्मित शहीदस्तम्भ, नेपालको तत्कालीन वस्तुस्थिति बुझाउने नक्सा र चारवटा प्रतीकात्मक स्तम्भहरू समेत रहेका छन् । ऐतिहासिक र राजनीतिक रूपमा महत्त्वपूर्ण मानिएको यस स्थललाई राष्ट्रको गौरव, सांस्कृतिक धरोहर र शहीदहरूको सम्मान गर्ने विशेष केन्द्रका रूपमा विकास गर्ने सरकारको लक्ष्य थियो । सोही उद्देश्य अनुरूप पुरातात्विक वस्तुहरूको प्रदर्शन, संरक्षण र सम्वर्द्धन गर्ने जिम्मेवारीसहित विकास समिति स्थापना गरिए पनि निर्मित करोडौँका संरचना सञ्चालन गर्न नसक्दा चौतर्फी गुनासो बढेको छ ।
