काठमान्डौ। सर्वोच्च अदालतका प्रस्तावित प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माको कार्ययोजना र उनीविरुद्ध परेका उजुरीहरूको अध्ययनका लागि विपक्षी दलहरूले समय माग गरेका छन्। जेठ ५ गते मंगलबार बिहान बसेको संसदीय सुनुवाइ समितिको बैठकमा विपक्षी दलका सांसदहरूले हतार नगरी प्रक्रियागत रूपमा अगाडि बढ्नुपर्ने अडान राखेका हुन्।
बैठकमा एमाले संसदीय दलकी उपनेता पद्मा अर्याल र सांसद नरबहादुर विष्टले संसदीय सुनुवाइको प्रक्रियामा अत्यधिक हतारो गरिएको भन्दै आपत्ति जनाउनुभयो। त्यस्तै, नेकपाका सांसद वर्षमान पुनले सुनुवाइ प्रक्रियालाई परिपक्व, पारदर्शी र जवाफदेही बनाउनुपर्नेमा जोड दिँदै थप समय आवश्यक रहेको बताउनुभयो। प्रधानन्यायाधीशमा सिफारिस डा. शर्मामाथि १६ वटा उजुरी परेका छन्। आजको बैठकमा ती उजुरीको विवरण र शर्माको कार्ययोजना सदस्यहरूलाई वितरण गरिएको थियो।
विपक्षीले समय माग गरे पनि सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरूले भने सुनुवाइ प्रक्रियालाई थप विलम्ब नगरी वस्तुनिष्ठ र द्रुत गतिमा अगाडि बढाउन माग गरेका छन्। रास्वपाका प्रमुख सचेतक कवीन्द्र बुर्लाकोटीसहित सांसदहरू डा. लेखजंग थापा र राजीव खत्रीले सुनुवाइलाई प्रभावकारी बनाउन विभिन्न सुझावहरू प्रस्तुत गर्नुभएको थियो।
यसैबीच, संसदीय सुनुवाइ समितिका सभापति बोधनारायण श्रेष्ठले न्यायालयमा देखिएको अन्योल अन्त्य गर्न समयमै निर्णय लिनुपर्ने उल्लेख गर्दै सुनुवाइ प्रक्रियालाई निष्कर्षमा पुर्याउन ढिलाइ गर्न नहुने बताउनुभएको छ। प्रस्तावित प्रधानन्यायाधीश डा. शर्मामाथिको संसदीय सुनुवाइ प्रक्रिया मंगलबार बिहानदेखि औपचारिक रूपमा सुरु भएको हो।
