काठमान्डौ। दक्षिण चीनको ग्वाङ्सी झुआङ स्वायत्त क्षेत्रमा सोमबार बिहान शक्तिशाली भूकम्प गएको छ। लिउझोउ सहरको लिउनान जिल्लालाई केन्द्रबिन्दु बनाएर गएको ५.२ म्याग्निच्यूडको उक्त भूकम्पमा परी कम्तीमा दुई जनाको मृत्यु भएको छ भने एक जना बेपत्ता भएका छन्।
चाइना भूकम्प नेटवर्क सेन्टर (सीईएनसी) का अनुसार भूकम्प जमिनको सतहबाट करिब ८ किलोमिटर गहिराइमा मापन गरिएको थियो। कम गहिराइमा केन्द्रबिन्दु भएकाले भूकम्पको धक्का कडा महसुस गरिएको स्थानीय सञ्चारमाध्यमहरूले जनाएका छन्।
भूकम्प लगत्तै स्थानीय प्रशासनले आपत्कालीन सेवा, दमकल र प्रहरी टोलीहरूलाई उद्धार कार्यमा परिचालन गरेको छ। उद्धार र राहत कार्यलाई थप प्रभावकारी बनाउन ग्वाङ्सी क्षेत्रीय भूकम्प राहत मुख्यालय तथा चीन भूकम्प प्रशासन दुवैले तेस्रो तहको आपत्कालीन कार्ययोजना (लेभल-३ रेस्पोन्स) सक्रिय पारेका छन्।
घटनास्थलमा हालसम्म ५१ वटा दमकल तथा उद्धार सवारी साधनसहित ३ सय १५ जना दक्ष उद्धारकर्मी परिचालन भइसकेका छन्। उद्धार टोलीले भग्नावशेषमा फसेकाहरूको खोजी गर्नुका साथै प्रभावितहरूलाई सुरक्षित स्थानमा सार्ने काम गरिरहेको छ। प्रशासनले भूकम्पपछिका परकम्पहरू (आफ्टरशक्स) आउन सक्ने सम्भावनालाई मध्यनजर गर्दै स्थानीयलाई सतर्क रहन आग्रह गरेको छ भने प्राविधिक टोलीले निरन्तर निगरानी राखिरहेको छ।
