अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई कडा चेतावनी दिँदै चाँडै सम्झौतामा नआए गम्भीर परिणाम भोग्नुपर्ने बताएका छन्। आणविक कार्यक्रम, आर्थिक प्रतिबन्ध र युद्ध क्षतिपूर्तिका विषयमा दुई देशबीचको वार्ता अवरुद्ध भइरहेका बेला राष्ट्रपति ट्रम्पको यस्तो आक्रोशपूर्ण भनाइ बाहिर आएको हो।
सामाजिक सञ्जाल ‘ट्रुथ सोसियल’ मा एक पोस्ट गर्दै ट्रम्पले इरानका लागि समय निकै कम रहेको उल्लेख गरेका छन्। उनले लेखेका छन्, “इरानको लागि घडीको सुई टिक-टिक गरिरहेको छ। उनीहरूले तुरुन्तै कदम चाल्नुपर्छ, अन्यथा उनीहरूसँग केही पनि बाँकी रहने छैन।”
पछिल्लो समय अमेरिका र इरानबीचको कूटनीतिक संवाद फेरि गम्भीर मोडमा पुगेको छ। इरानी सञ्चारमाध्यमहरूका अनुसार अमेरिकाले इरानसमक्ष ४०० किलोग्राम समृद्ध युरेनियम हस्तान्तरण गर्नुपर्ने र देशमा एउटा मात्र आणविक केन्द्र सञ्चालनमा राख्नुपर्ने सर्त अघि सारेको छ।
तर, इरानले भने अमेरिकी सर्तहरूलाई सिधै अस्वीकार गरिदिएको छ। इरानले वार्ताको टेबलमा बस्नका लागि यस क्षेत्रमा भइरहेका सैन्य कारबाही रोकिनुपर्ने, आफूमाथि लगाइएका आर्थिक प्रतिबन्धहरू फुकुवा हुनुपर्ने र रोक्का गरिएका सम्पूर्ण सम्पत्ति फिर्ता हुनुपर्ने अडान राखेको छ।
यसैबीच, इरानी राष्ट्रपति मसूद पजाकियानले अमेरिका र इजरायल मिलेर इरानलाई अस्थिर बनाउन खोजेको आरोप लगाएका छन्। राष्ट्रपति ट्रम्पको यो पछिल्लो चेतावनीले मध्यपूर्वमा अमेरिका र इरानबीचको तनाव अझै चुलिने संकेत गरेको छ।
