काठमाडौँ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले जनताको बहुदलीय जनवाद (जबज) को मूल मर्मलाई आत्मसात् गर्दै लोकतन्त्र, राष्ट्रिय एकता, सुशासन र समृद्ध नेपालको लक्ष्य प्राप्तिका लागि सबै राजनीतिक शक्तिहरू एकताबद्ध हुनुपर्नेमा जोड दिएकी छन् ।
आइतबार नेकपा (एमाले) ले काठमाडौँको बल्खुमा आयोजना गरेको मदन–आश्रितको ३३ औँ स्मृति सभालाई सम्बोधन गर्दै जननेता मदन भण्डारीकी धर्मपत्नी समेत रहेकी पूर्वराष्ट्रपति भण्डारीले यस्तो विचार व्यक्त गरेकी हुन् । उनले मदन–आश्रित स्मृति दिवसलाई केवल औपचारिक कार्यक्रममा मात्र सीमित नगरेर यसलाई वैचारिक पुनर्जागरण र नयाँ सङ्कल्पको अवसरका रूपमा लिन एमालेका नेता तथा कार्यकर्ताहरूलाई आग्रह गरिन् ।
नेताद्वय मदन भण्डारी र जीवराज आश्रितप्रति सच्चा श्रद्धाञ्जली उहाँहरूले देखाएको बाटो, विचार, आदर्श र जनमुखी राजनीतिक संस्कारलाई व्यवहारमा उतार्न सके मात्र हुने उनको भनाइ थियो । उनले भनिन्, “जननेता मदन भण्डारी र जीवराज आश्रितले देख्नुभएको समतामूलक, समृद्ध र आत्मनिर्भर नेपालको सपना अझै पूरा गर्न बाँकी छ, त्यसका लागि हामी निरन्तर लाग्नुपर्छ ।”
जनताको विश्वास नै कुनै पनि राजनीतिक दलको सबैभन्दा ठुलो शक्ति भएको उल्लेख गर्दै पूर्वराष्ट्रपति भण्डारीले पार्टी र जनताबिचको दुरी बढेमा राजनीतिक आन्दोलनको मर्म नै कमजोर हुने खतरा औँल्याइन् । त्यसैले राजनीतिक दलहरूले जनताका भावना, अपेक्षा र समस्याहरूलाई सधैँ नजिकबाट बुझ्नुपर्नेमा उनले जोड दिइन् । राजनीतिलाई जनसेवा र समाज रूपान्तरणको पवित्र अभियानका रूपमा स्थापित गर्न सबै क्षेत्रबाट अविचलित ढङ्गले क्रियाशील हुनुपर्ने आवश्यकतामाथि उनले विशेष जोड दिएकी छन् ।
