काठमाडौँ। नेपाल अटोमोबाइल इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चरर्स एसोसिएशन (नाईमा) ले विद्युतीय सवारी साधन (इभी) को मोटर क्षमतासम्बन्धी स्पष्ट, व्यवहारिक र एकरूप मापदण्ड बनाउन सरकारसँग जोडदार माग गरेको छ। सरकारसँगको हालैको छलफलमा नाईमाले इभीको मोटर क्षमता परीक्षण, प्रमाणीकरण तथा प्राविधिक मूल्याङ्कनका लागि स्पष्ट कार्यविधि आवश्यक रहेको औंल्याएको हो।
हाल नेपालमा आयात भइरहेका विद्युतीय सवारी साधनहरू अन्तर्राष्ट्रिय मान्यता प्राप्त उत्पादक कम्पनीहरूले जारी गरेका आधिकारिक प्राविधिक विवरण, परीक्षण प्रतिवेदन तथा प्रमाणीकरण प्रक्रियाका आधारमा भित्रिरहेका छन्। विश्व अटोमोबाइल बजारमा एउटै मोडलका सवारी साधन पनि फरक–फरक देश, नियामक संरचना र बजारको आवश्यकता अनुसार विभिन्न प्राविधिक स्पेसिफिकेशनमा उत्पादन हुने गर्दछन्। यस्तो अवस्थामा केवल वेबसाइटमा देखिएका विवरण, मोडलको नाम वा बाह्य जानकारीका आधारमा मात्रै मोटर क्षमताको निष्कर्ष निकाल्नु प्राविधिक रूपमा विश्वसनीय नहुने नाईमाको ठहर छ।
नेपालमा हाल इभी सवारी साधनसँग सम्बन्धित मोटर क्षमता परीक्षण र प्रमाणीकरणका लागि स्पष्ट राष्ट्रिय प्राविधिक मापदण्ड, संस्थागत परीक्षण प्रणाली तथा एकीकृत कार्यविधि पूर्ण रूपमा कार्यान्वयनमा आउन सकेको छैन। यही नीतिगत अस्पष्टताका कारण विभिन्न तहमा भ्रम, अन्योल र फरक–फरक व्याख्या उत्पन्न भइरहेको व्यवसायीहरू बताउँछन्।
नाईमाले इभी सवारी साधनको प्राविधिक मूल्याङ्कन आधिकारिक उत्पादक कम्पनीको प्रमाणित विवरण, अन्तर्राष्ट्रिय रूपमा मान्यता प्राप्त परीक्षण निकायका प्रमाणपत्र र स्थापित प्राविधिक मापदण्डका आधारमा गरिनुपर्ने सुझाव दिएको छ। साथै, सरकारी निकायहरूबिच एकरूपता ल्याउन स्पष्ट प्राविधिक कार्यविधि, परीक्षण पूर्वाधार तथा प्रमाणीकरण प्रणाली तत्काल विकास गर्न माग गरिएको छ।
विद्युतीय सवारी साधन नेपालको स्वच्छ ऊर्जा उपयोग, दिगो यातायात प्रणाली र हरित अर्थतन्त्र प्रवर्धनका लागि महत्त्वपूर्ण माध्यम बनिसकेका छन्। इभी क्षेत्रको विस्तारले स्वदेशी जलविद्युत्को खपत बढाउन र वातावरणीय प्रदूषण न्यूनीकरणमा ठुलो योगदान पुर्याइरहेको सन्दर्भमा यस क्षेत्रका समस्यालाई तथ्य, प्राविधिक अध्ययन र अन्तर्राष्ट्रिय अभ्यासका आधारमा मात्रै मूल्याङ्कन गरिनुपर्नेमा नाईमाले जोड दिएको छ।
