काठमाडौँ। अमेरिका र इरानबिचको तनाव उत्कर्षमा पुगिरहेका बेला अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सामाजिक सञ्जालमा एउटा रहस्यमय र चेतावनीपूर्ण पोस्ट साझा गर्नुभएको छ। उहाँले आफ्नो आधिकारिक सामाजिक सञ्जाल प्लेटफर्म ‘ट्रुथ सोसल’ (Truth Social) मा एउटा एनिमेटेड तस्बिर पोस्ट गर्दै सैन्य रणनीति तर्फ संकेत गर्नुभएको हो।
उक्त तस्बिरमा राष्ट्रपति ट्रम्प एक सैन्य कमाण्डरसँग देखिएका छन्। आँधीबेहरीपूर्ण वातावरणको पृष्ठभूमि रहेको उक्त एनिमेटेड दृश्यमा ट्रम्प एउटा युद्धपोतको डेकमा उभिएको देखिन्छ भने अगाडि इस्लामिक गणतन्त्र इरानको झण्डा फहराइरहेका जहाजहरू रहेका छन्। सोही तस्बिरको माथि ‘यो आँधी आउनुभन्दा पहिलेको शान्ति हो’ (Quiet before the storm) भन्ने वाक्य लेखिएको छ।
ट्रम्पको यो पोस्ट यस्तो समयमा आएको छ, जब मध्यपूर्वमा ठूलो सैन्य टकरावको खतरा बढिरहेको छ। अमेरिकी अखबार ‘न्यूयोर्क टाइम्स’ ले मध्यपूर्वका दुई उच्च अधिकारीहरूलाई उद्धृत गर्दै अमेरिका र इजरायलले इरानमाथि पुनः ठूलो सैन्य आक्रमणको तयारी गरिरहेको दाबी गरेको छ। रिपोर्टहरूका अनुसार यी सम्भावित आक्रमणहरू अर्को हप्तादेखि नै सुरु हुन सक्छन्।
अर्कोतर्फ, इरानले पनि अमेरिकी र इजरायली तयारीलाई लिएर कडा प्रतिक्रिया दिएको छ। इरानी अधिकारीहरूले आफ्नो देशमाथि कुनै पनि प्रकारको आक्रमण भएमा त्यसको कडा र अझ सशक्त रूपमा प्रतिवाद गर्ने चेतावनी दिएका छन्। ट्रम्पको पछिल्लो पोस्टले मध्यपूर्वको सुरक्षा अवस्थालाई थप संवेदनशील बनाएको विश्लेषण गर्न थालिएको छ।
