काठमाडौँ। आज नेपालसहित विश्वभर ‘विश्व दूरसञ्चार तथा सूचना समाज दिवस’ विभिन्न चेतनामूलक कार्यक्रमका साथ मनाइँदैछ। इन्टरनेट र सूचना तथा सञ्चार प्रविधि (आईसीटी) को माध्यमबाट समाज एवं अर्थतन्त्रमा ल्याउन सकिने सकारात्मक परिवर्तनबारे नागरिकमा सचेतना जगाउने र विश्वव्यापी रूपमा देखिने डिजिटल विभाजनलाई कम गर्ने मुख्य उद्देश्यका साथ हरेक वर्ष मे १७ तारिखमा यो दिवस मनाउने गरिन्छ।
विश्वमा प्रविधिको विकास तीव्र गतिमा भइरहे पनि यसको उपलब्धतामा भने अझै ठूलो खाडल देखिन्छ। सूचना तथा सञ्चार प्रविधि, जस्तै– इन्टरनेट, कम्प्युटर र स्मार्टफोनमा पहुँच भएका र नभएका व्यक्ति, समुदाय वा क्षेत्रबीचको यही असमानतालाई ‘डिजिटल विभाजन’ भनिन्छ। सहरी क्षेत्रका नागरिकले सहजै उच्च गतिको इन्टरनेट र अनलाइन सेवाहरू उपभोग गरिरहँदा दुर्गम तथा ग्रामीण भेगका मानिसहरू सामान्य प्राविधिक सुविधा, डिजिटल शिक्षा र अवसरबाट वञ्चित हुनु यसकै उदाहरण हो। आजको दिवसले यस्तै असमानतालाई चिर्दै सबैका लागि समान डिजिटल अवसर सुनिश्चित गर्न सरोकारवालाहरूको ध्यानाकर्षण गराउँछ।
यस दिवसको इतिहास केलाउँदा, सन् १८६५ मे १७ मा पहिलो अन्तर्राष्ट्रिय टेलिग्राफ महासन्धिमा हस्ताक्षर भएको र अन्तर्राष्ट्रिय दूरसञ्चार सङ्घ (आईटीयू) को स्थापना भएको दिनको सम्झनामा सन् १९६९ देखि यो दिवस मनाउन थालिएको हो। पछि, सन् १९७३ को आईटीयू सम्मेलनले यसलाई औपचारिक मान्यता दिएको थियो।
त्यस्तै, सन् २००५ मा सम्पन्न सूचना समाजसम्बन्धी विश्व शिखर सम्मेलन (डब्ल्यूएसआईएस) को आग्रह र संयुक्त राष्ट्रसङ्घीय महासभाको सन् २००६ को निर्णयबमोजिम मे १७ लाई ‘विश्व सूचना समाज दिवस’ का रूपमा समेत मनाउन थालियो। राष्ट्रसङ्घका अनुसार प्रविधिको माध्यमबाट आर्थिक-सामाजिक विकासका अवसरहरू सिर्जना गर्नु र कुनै पनि नागरिकलाई डिजिटल पहुँचबाट बाहिर रहन नदिने वातावरण बनाउनु नै यस दिवसको मूल सन्देश हो।
