आज: २०८३ श्रावण ११, सोमबार | Mon, 27, Jul, 2026
FLASH NEWS

सरकारी अस्पतालको जग्गा संरक्षणमा स्वास्थ्य मन्त्रालयको कडा कदम: अतिक्रमण हटाउन र घेराबार गर्न निर्देशन

परदेशी खबर २०८३ बैशाख ३१, बिहिबार मा प्रकाशित ( २ महिना अघि) ११९ पाठक संख्या

काठमाण्डौ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशभरका सरकारी अस्पताल तथा स्वास्थ्य प्रतिष्ठानहरूको स्वामित्वमा रहेका जग्गा र भौतिक संरचनाको संरक्षणका लागि कठोर नीति अख्तियार गरेको छ। मन्त्रालयले एक परिपत्र जारी गर्दै सरकारी सम्पत्तिको अनधिकृत प्रयोग र अतिक्रमण रोक्न सबै सम्बन्धित निकायलाई तत्काल कार्ययोजनासहित अगाडि बढ्न निर्देशन दिएको हो।

बिज्ञापन (Sponsored)

मन्त्रालयको निर्देशनअनुसार अब देशभरका स्वास्थ्य संस्थाहरूले आफ्ना जग्गाको साँध–सिमाना स्वीकृत नक्सा बमोजिम यकिन गरी स्पष्ट अभिलेख तयार गर्नुपर्नेछ। यदि कतै अतिक्रमण भएको पाइएमा सम्बन्धित व्यक्ति वा संस्थालाई निश्चित समयसीमा दिएर लिखित सूचना जारी गरिनेछ। तोकिएको समयभित्र पनि अतिक्रमण नहटाएमा जिल्ला प्रशासन कार्यालय, स्थानीय तह र सुरक्षा निकायको प्रत्यक्ष समन्वयमा त्यस्ता संरचनाहरू बलपूर्वक हटाइने मन्त्रालयले चेतावनी दिएको छ।

जग्गा फिर्ता गराउने मात्र नभई भविष्यमा पुनः अतिक्रमण हुन नदिन खाली जग्गामा तत्काल कम्पाउण्ड वाल (घेराबार) लगाउन र सुरक्षा व्यवस्था मजबुत बनाउन समेत मन्त्रालयले जोड दिएको छ। यसका साथै लालपुर्जा, स्रेस्ता र नापी कार्यालयका प्रमाणित कागजातहरू अद्यावधिक गरी सुरक्षित राख्न भनिएको छ।

यो अभियानमा विशेषगरी देशका ठूला र रणनीतिक महत्वका अस्पतालहरूलाई प्राथमिकतामा राखिएको छ। मन्त्रालयको परिपत्र प्राप्त गर्नेहरूमा वीर अस्पताल, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, नारायणी अस्पताल, भरतपुर अस्पताल, कान्ति बाल अस्पताल, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल र राष्ट्रिय ट्रमा सेन्टर रहेका छन्।

यसैगरी विभिन्न क्यान्सर अस्पताल, मानसिक अस्पताल, आयुर्वेद तथा वैकल्पिक चिकित्सा केन्द्रहरू र अनुसन्धान प्रतिष्ठानहरूलाई पनि आफ्नो सम्पत्ति जोगाउन निर्देशन दिइएको छ। सार्वजनिक सम्पत्तिको संरक्षण गर्दै स्वास्थ्य सेवालाई व्यवस्थित र प्रभावकारी बनाउन यो कदम चालिएको मन्त्रालयको भनाइ छ।