आज: २०८३ श्रावण ११, सोमबार | Mon, 27, Jul, 2026
FLASH NEWS

श्रम संस्कृति पार्टीमा सुदन किराती समूहको प्रवेश: १८ नेताले पाए जिम्मेवारी

परदेशी खबर २०८३ बैशाख ३१, बिहिबार मा प्रकाशित ( २ महिना अघि) ९० पाठक संख्या

काठमाडौं । पछिल्लो राजनीतिक घटनाक्रमसँगै श्रम संस्कृति पार्टीमा पूर्वमन्त्री सुदन किरातीको समूह औपचारिक रूपमा प्रवेश गरेको छ। किराती समूहको आगमनसँगै पार्टीले नयाँ संरचना तयार गरी १८ जना नेताहरूलाई विभिन्न महत्वपूर्ण जिम्मेवारी समेत सुम्पिएको छ।

बिज्ञापन (Sponsored)

नयाँ कार्यविभाजन अनुसार सुदन किरातीलाई पार्टीको वरिष्ठ नेताको जिम्मेवारी दिइएको छ। त्यसैगरी, किराती समूहबाटै प्रकाश विकल्प उपाध्यक्ष र टीकाराम राई सचिवमा चयन भएका छन्। पार्टीले तीन पदाधिकारीसहित अन्य १५ जना नेताहरूलाई केन्द्रीय सदस्य लगायतका विभिन्न पदमा व्यवस्थापन गरेको छ।

किराती समूहको समावेशले संगठन थप सुदृढ र विस्तार हुने विश्वास पार्टी नेतृत्वले लिएको छ। पार्टीले यस एकतालाई ‘सदनदेखि सडकसम्म’ बलियो प्रतिपक्षको भूमिका निर्वाह गर्ने एउटा महत्वपूर्ण कडीका रूपमा व्याख्या गरेको छ। नयाँ शक्ति सञ्चयसँगै अब राजनीतिक रूपमा अझ प्रभावकारी ढंगले अघि बढ्ने दाबी पार्टीको छ।

पार्टीका नवनियुक्त सचिव टीकाराम राईले यो सहभागिताले संगठनलाई प्रत्यक्ष रूपमा जनजीविकाका मुद्दाहरूसँग जोड्ने बताए। उनले श्रमिक, किसान र आम सर्वसाधारणका समस्यालाई सदन र सडक दुवै ठाउँबाट सशक्त रूपमा उठाउने र जनताको पक्षमा निरन्तर वकालत गर्ने पार्टीको आगामी योजना रहेको स्पष्ट पारेका छन्।