काठमान्डौ। अमेरिका पठाउने प्रलोभन देखाई एक युवतीलाई विभिन्न देश पुर्याएर बन्धक बनाउने, जबरजस्ती करणी गर्ने र करोडौँ रकम ठगी गरेको गम्भीर आरोपमा स्याङ्जाका एक वडाध्यक्ष पक्राउ परेका छन्। मानव बेचबिखन अनुसन्धान ब्यूरोले पुतलीबजार नगरपालिका वडा नं. ४ का ४४ वर्षीय वडाध्यक्ष शिवबहादुर थापालाई कास्कीको पोखराबाट नियन्त्रणमा लिएको हो।
थापाले सामाजिक सञ्जाल ह्वाट्सएपमार्फत पीडित युवतीसँग चिनजान गरी ६० लाख रुपैयाँमा अमेरिका पठाइदिने प्रलोभन देखाएको अनुसन्धानबाट खुलेको छ। सोही योजनाअनुसार २०७८ वैशाखमा काठमाडौँबाट दुबई पुर्याइएकी ती युवतीलाई बहराइन, टर्की, ब्राजिल र पेरु हुँदै कोलम्बिया पुर्याइएको थियो। कोलम्बियामा एक वर्षसम्म बन्धक बनाएर राख्ने क्रममा उनीमाथि शारीरिक तथा मानसिक यातना दिनुका साथै जबरजस्ती करणी समेत गरिएको ब्यूरोले जनाएको छ।
पीडितले नेपाल फर्कन आग्रह गर्दा थापाले उल्टै थप रकम माग गरेका थिए। ज्यान जोगाउनकै लागि पीडितले अमेरिकामा रहेका आफ्ना साथीमार्फत विभिन्न बैंक खाता र वेस्टर्न युनियन प्रयोग गरी पटक–पटक गरेर ९८ हजार ९०० अमेरिकी डलर (करिब १ करोड ३० लाख रुपैयाँभन्दा बढी) बुझाएकी थिइन्। रकम पाएपछि थापाले आफ्ना एजेन्टमार्फत पीडितलाई कोलम्बियाबाट पानामाको जङ्गल हुँदै मेक्सिकोको बोर्डरसम्म पुर्याउन लगाएका थिए। त्यहाँ पुगेपछि पुनः २० हजार डलर माग गरिएको र सो रकम दिन नसक्दा एजेन्टहरूले उनलाई मेक्सिकोको सीमामा अलपत्र छाडेर सम्पर्कविहीन भएका थिए।
लामो समयको कष्टकर यात्रा र अलपत्र अवस्थापछि पीडित युवतीले अमेरिकास्थित नेपाली राजदूतावास र आफन्तको समन्वयमा ट्राभल डकुमेन्ट बनाएर २०८३ वैशाख २ गते नेपाल फर्कन सफल भएकी हुन्। नेपाल आएलगत्तै उनले दिएको उजुरीका आधारमा ब्यूरोको टोलीले थापालाई वैशाख २८ गते पक्राउ गरेको हो। काठमाडौँ जिल्ला अदालतबाट म्याद थप गरी उनीमाथि मानव बेचबिखन तथा ओसारपसार मुद्दामा थप अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक राजन लिम्बुले जानकारी दिएका छन्।
