आज: २०८३ श्रावण ११, सोमबार | Mon, 27, Jul, 2026
FLASH NEWS

नेपालमा हान्टाभाइरसको जोखिम न्यून रहेको स्वास्थ्य मन्त्रालयको स्पष्टोक्ति

परदेशी खबर २०८३ बैशाख ३०, बुधबार मा प्रकाशित ( २ महिना अघि) १५९ पाठक संख्या

काठमान्डौ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नेपालमा हालसम्म हान्टाभाइरसको कुनै पनि सङ्क्रमण पुष्टि नभएको स्पष्ट पारेको छ। पछिल्लो समय सामाजिक सञ्जाल र विभिन्न सञ्चारमाध्यममा यस भाइरसका बारेमा भइरहेका चर्चा र आशङ्काका बीच मन्त्रालयले एक आधिकारिक सूचना जारी गर्दै नेपालमा यसको तत्काल जोखिम अत्यन्त न्यून रहेको जनाएको हो। मन्त्रालयका अनुसार हाल विश्वका केही भागमा चर्चामा रहेको हान्टाभाइरस समूहको ‘एन्डिज भाइरस’ सार्ने विशेष प्रजातिको मुसा नेपालमा सामान्यतया नपाइने भएकाले यहाँ महामारीका रूपमा फैलिने सम्भावना नरहेको विज्ञहरूले बताएका छन्।

बिज्ञापन (Sponsored)

हान्टाभाइरस एक दुर्लभ भाइरल रोग हो, जुन मुख्यतया सङ्क्रमित मुसाको पिसाब, दिसा, र्‍याल वा तिनीहरूले दूषित बनाएको वातावरणसँग प्रत्यक्ष सम्पर्कमा आउँदा मानिसमा सर्ने गर्दछ। वैज्ञानिक अध्ययनहरूका अनुसार मानिसबाट मानिसमा यो भाइरस सर्नु अत्यन्त दुर्लभ मानिन्छ र सीमित अवस्थामा अत्यन्त नजिकको सम्पर्कबाट मात्र सङ्क्रमणको सम्भावना रहन्छ। नेपालमा यसको जोखिम कम भए तापनि जनस्वास्थ्यको संवेदनशीलतालाई ध्यान दिँदै मन्त्रालयले सर्वसाधारणलाई घर तथा वरपरको वातावरण सफा राख्न, मुसा प्रवेश गर्ने प्वालहरू बन्द गर्न र मुसाको फोहोर सफा गर्दा अनिवार्य रूपमा मास्क तथा पन्जा प्रयोग गर्न विशेष अनुरोध गरेको छ।

मन्त्रालयले नियमित रूपमा साबुनपानीले हात धुने बानी बसाल्न र ज्वरो आउने वा श्वासप्रश्वासमा समस्या देखिएमा तुरुन्त नजिकको स्वास्थ्य संस्थामा सम्पर्क गर्न आग्रह गरेको छ। साथै, आधिकारिक स्रोतबाट पुष्टि नभएका भ्रामक सूचना र अफवाहको पछि लागेर अनावश्यक आतङ्क सिर्जना नगर्न समेत स्वास्थ्य मन्त्रालयले सबैमा अपिल गरेको छ। मन्त्रालयले स्थितिको निरन्तर निगरानी गरिरहेको र हालसम्म डराउनुपर्ने अवस्था नरहेको समेत स्पष्ट पारेको छ।