काठमान्डौ। इरानले विश्वकै सबैभन्दा रणनीतिक र व्यस्त समुद्री मार्ग मानिने होर्मुज स्ट्रेटनजिकै रहेका आफ्ना ३० वटा क्षेप्यास्त्र अड्डाहरूमा पुनः पहुँच प्राप्त गरेको छ। न्युयोर्क टाइम्सले अमेरिकी गुप्तचर निकायहरूलाई उद्धृत गर्दै सार्वजनिक गरेको रिपोर्टअनुसार इरानको यो सक्रियताले उक्त जलमार्गबाट हुने अन्तर्राष्ट्रिय व्यापार र जहाजहरूको सुरक्षामा नयाँ चुनौती थपिएको छ।
होर्मुज स्ट्रेट आसपास इरानका कूल ३३ वटा क्षेप्यास्त्र प्रक्षेपण स्थलहरू रहेका छन्। पछिल्लो सैन्य गतिविधिसँगै इरानले तीमध्ये ३० वटा स्थललाई पूर्ण रूपमा आफ्नो नियन्त्रण र सञ्चालनमा ल्याएको हो। अब केवल तीनवटा स्थल मात्र बन्द अवस्थामा रहेको प्रतिवेदनमा उल्लेख छ। अमेरिकी गुप्तचर निकायहरूले इरानले यी क्षेत्रमा ‘मोबाइल लन्चर’ हरू तैनाथ गर्न सक्ने र त्यसको माध्यमबाट जुनसुकै बेला पनि जहाजहरूलाई निसाना बनाउन सक्ने चिन्ता व्यक्त गरेका छन्। मोबाइल लन्चरको प्रयोगले क्षेप्यास्त्रलाई सजिलै एक स्थानबाट अर्को स्थानमा लैजान र प्रहार गर्न सम्भव बनाउँछ।
केही रणनीतिक स्थानहरूमा भने इरानले स्थायी लन्चप्याडहरूसमेत निर्माण गरेको छ, जहाँबाट सिधै र तीव्र गतिमा क्षेप्यास्त्र प्रहार गर्न सकिन्छ। होर्मुज स्ट्रेट विश्वको ऊर्जा सुरक्षाका लागि मेरुदण्ड मानिन्छ, जहाँबाट विश्वभर खपत हुने तेलको झन्डै २० प्रतिशत ढुवानी हुने गर्दछ। इरानले यसअघि नै चेतावनी दिँदै आएको छ कि यदि आफ्नो हितमा आघात पुगेमा उसले यो मार्गबाट हुने तेल ढुवानी पूर्ण रूपमा ठप्प पार्न सक्छ। इरानको पछिल्लो यो कदमलाई मध्यपूर्वमा बढ्दो तनाव र आफ्नो क्षेत्रीय प्रभावलाई थप बलियो बनाउने रणनीतिका रूपमा हेरिएको छ।
