काठमाण्डौ। नेपाली कांग्रेसका सभापति गगन थापाले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा विगतका वर्षहरूभन्दा छिटो सार्वजनिक गर्न सफल भएकोमा सरकारलाई धन्यवाद दिएका छन्। सामाजिक सञ्जालमार्फत आफ्नो धारणा राख्दै थापाले नतिजा प्रकाशनको कार्यलाई प्रभावकारी बनाउने नेपाल सरकार, सम्बन्धित निकाय र यस प्रक्रियामा संलग्न सबै टोलीप्रति बधाई तथा कृतज्ञता व्यक्त गरेका हुन्।
विद्यार्थीहरूको मेहनत र लगनशीलताले सार्थक रूप पाएको उल्लेख गर्दै उनले उत्तीर्ण हुने सम्पूर्ण परीक्षार्थीहरूलाई उज्ज्वल भविष्यको शुभकामना समेत दिएका छन्। नतिजामा अपेक्षित ग्रेड प्राप्त गर्न नसकेका विद्यार्थीहरूलाई प्रोत्साहित गर्दै थापाले यसलाई जीवनको एउटा खुड्किलोका रूपमा मात्र लिन र विचलित नहुन आग्रह गरेका छन्। उनले आगामी ग्रेड वृद्धि परीक्षालाई आफ्नो क्षमता प्रमाणित गर्ने अर्को सुन्दर अवसरको रूपमा सदुपयोग गर्न विद्यार्थीहरूलाई सुझाव दिएका छन्।
साथै, थापाले विद्यार्थीहरूको मनोबल उच्च राख्न र उनीहरूलाई आवश्यक शैक्षिक परामर्श उपलब्ध गराउन स्थानीय सरकारहरूलाई तत्काल समन्वय र पहल कदमीका लागि विशेष अनुरोध समेत गरेका छन्।
