आज: २०८३ श्रावण ११, सोमबार | Mon, 27, Jul, 2026
FLASH NEWS

विश्व आध्यात्मिक पर्यटन केन्द्रका रूपमा नेपाललाई स्थापित गर्न ‘देवभूमि नेपाल’ अभियान सञ्चालन गरिने

परदेशी खबर २०८३ बैशाख २९, मंगलबार मा प्रकाशित ( २ महिना अघि) १२३ पाठक संख्या

काठमाण्डौ। सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रममार्फत नेपाललाई विश्वकै आध्यात्मिक पर्यटन केन्द्रका रूपमा विकास गर्ने लक्ष्यका साथ ‘देवभूमि नेपाल’ राष्ट्रिय अभियान सञ्चालन गर्ने घोषणा गरेको छ। राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्को संयुक्त बैठकमा प्रस्तुत गर्नुभएको नीति तथा कार्यक्रममा धार्मिक, सांस्कृतिक, आरोग्य, चलचित्र र साहसिक पर्यटनलाई विशेष प्राथमिकतामा राखिएको छ। नेपालको मौलिक पहिचान र आध्यात्मिक गरिमालाई विश्वस्तरमा प्रवर्द्धन गर्न यो अभियान कोसेढुङ्गा सावित हुने सरकारको विश्वास छ।

बिज्ञापन (Sponsored)

पर्यटन क्षेत्रको आधुनिकिकरणका लागि सरकारले हवाई सेवालाई भरपर्दो बनाउनुका साथै सम्पूर्ण पर्यटन सेवालाई डिजिटल प्रणालीमा लैजाने योजना अघि सारेको छ। विशेष गरी हवाई पूर्वाधारको विस्तार र अन्तर्राष्ट्रिय विमानस्थलहरूको पूर्ण क्षमतामा सञ्चालनलाई प्राथमिकता दिँदै नागरिक उड्डयन क्षेत्रमा संरचनात्मक सुधार गर्ने लक्ष्य राखिएको छ। यसअन्तर्गत भैरहवास्थित गौतम बुद्ध र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा थप विदेशी वायुसेवा कम्पनीहरूलाई आकर्षित गर्न कूटनीतिक पहल गरिनेछ। साथै, निजी क्षेत्रको सहभागिता बढाउँदै अन्तर्राष्ट्रिय सुरक्षा मापदण्डलाई कडाइका साथ पालना गराइने नीति लिइएको छ।

सेवा प्रवाहलाई चुस्त बनाउन पर्यटक भिसा सेवालाई पूर्ण रूपमा अनलाइन प्रणालीमा आबद्ध गरिने भएको छ। अध्यागमन विन्दुबाटै पर्यटकीय अनुमति र अन्य आवश्यक सेवाहरू एकीकृत रूपमा उपलब्ध गराउन ‘एक द्वार डिजिटल पर्यटन प्रणाली’ लागू गरिनेछ। सरकारले सन् २०२८ (वि.सं. २०८५) लाई ‘भिजिट नेपाल’ वर्षका रूपमा मनाउने तयारी गर्दै पर्यटकको आगमन, खर्च र बसाइँ अवधि बढाउने रणनीति लिएको छ। पर्वतीय पर्यटनलाई सुरक्षित बनाउन खोज तथा उद्धार प्रणालीलाई आधुनिक प्रविधिसँग जोडिनेछ भने प्याराग्लाइडिङ, बन्जीजम्प र स्काई डाइभिङ जस्ता साहसिक गतिविधिमार्फत पर्यटन प्रवर्द्धन गरिनेछ।

यसैगरी, देशका विभिन्न क्षेत्रमा कम्तीमा १० वटा नयाँ पदमार्ग पहिचान गरी सञ्चालनमा ल्याइने कार्यक्रम छ। नेपाल पर्यटन बोर्डलाई सार्वजनिक–निजी साझेदारी ढाँचामा पुनर्संरचना गरी थप नवप्रवर्तनशील बनाउने योजना सरकारको छ। कर्णाली, सुदूरपश्चिम, मधेस र कोशी प्रदेशका नयाँ पर्यटकीय गन्तव्यहरूलाई विशेष प्राथमिकता दिँदै समग्र पर्यटन इकोसिस्टमको विकास गर्ने नीतिलाई सरकारले जोड दिएको छ।