काठमाडौँ — संघीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे बस्दैछ। आजको बैठकमा सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रममाथि सामान्य छलफल प्रारम्भ हुने कार्यसूची रहेको छ।
राष्ट्रपति रामचन्द्र पौडेलले सोमबार सङ्घीय संसद्को संयुक्त बैठकमा प्रस्तुत गर्नुभएको सरकारको वार्षिक नीति तथा कार्यक्रममाथि सांसदहरूले आ–आफ्नो धारणा राख्नेछन्। छलफलमा दलीय प्रतिनिधित्वको आधारमा सत्तापक्ष र प्रतिपक्षका सांसदहरूलाई समय उपलब्ध गराइने संसद् सचिवालयले जनाएको छ।
सांसदहरूले उठाएका प्रश्न र सुझावका सम्बन्धमा छलफल सकिएपछि प्रधानमन्त्रीले जवाफ दिने कार्यक्रम रहेको छ। नीति तथा कार्यक्रम पारित भएपछि सरकारले आगामी जेठ १५ गते संसद्मा वार्षिक बजेट प्रस्तुत गर्ने संवैधानिक प्रावधान छ। आजको बैठकमा उपस्थित भई छलफलमा सहभागी हुन सबै राजनीतिक दलका सांसदहरूलाई सूचित गरिएको छ।
