काठमान्डौ। श्रम संस्कृति पार्टीका अध्यक्ष एवं सांसद हर्क साम्पाङले सुकुम्वासी व्यवस्थापन वा अन्य कुनै पनि बहानामा नागरिकका घरबस्ती भत्काउने कार्यको कडा आलोचना गरेका छन्। सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै उनले घरबस्ती नै देशको जग भएको र यसलाई भत्काउनु भनेको नेपालकै संरचनामा क्षति पुर्याउनु रहेको टिप्पणी गरेका हुन्।
साम्पाङले पछिल्लो समय विकास र सुकुम्वासी समस्या समाधानका नाममा भइरहेका विस्थापनका प्रयासहरूप्रति असन्तुष्टि जनाउँदै लेखेका छन्, “घरबस्ती भनेकै नेपाल हो। सुकुम्वासीको नाममा, बाटो विस्तारको नाममा वा अन्य कुनै बहानामा घरबस्ती भत्काउनु भनेको अन्ततः नेपाललाई नै भत्काउनु हो।” उनले राज्यले नागरिकको आवासको हकलाई सम्मान गर्नुपर्ने र विस्थापनभन्दा व्यवस्थापनमा जोड दिनुपर्ने आशय व्यक्त गरेका छन्। सधैँ श्रम र स्थानीय मुद्दामा मुखर रहने साम्पाङको यो पछिल्लो अभिव्यक्तिले बस्ती व्यवस्थापनका नाममा गरिने बल प्रयोगको नीतिमाथि गम्भीर प्रश्न उठाएको छ।
