काठमान्डौ। नेपाल सरकारले परीक्षणका रूपमा सातामा दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरे तापनि उपल्लो मुस्ताङको लोमन्थाङ गाउँपालिकाले भने आइतबार पनि सेवा सुचारु राख्ने भएको छ। भौगोलिक विकटता र मौसमजन्य प्रतिकुलताका कारण वर्षको झन्डै पाँच महिना विकास निर्माण र प्रशासनिक कामकाज ठप्प हुने भएकाले गाउँपालिकाले यस्तो निर्णय लिएको हो।
गाउँपालिकाका अध्यक्ष टसी न्हर्वु गुरूङका अनुसार, अत्यधिक जाडोका कारण कात्तिकदेखि फागुनसम्म यस क्षेत्रमा शैक्षिक गतिविधि र विकासका योजनाहरू पूर्ण रूपमा बन्द रहने गर्दछन्। “हाम्रोमा मौसमका कारण वर्षको आधा समय काम गर्न कठिन हुन्छ, त्यसैले बाँकी रहेको समयमा सेवा प्रवाहलाई प्रभावकारी बनाउन र स्थानीयको मागलाई सम्बोधन गर्न आइतबार पनि कार्यालय खोल्ने निर्णय गरेका हौँ,” अध्यक्ष गुरूङले बताउनुभयो।
लोमन्थाङका बासिन्दाहरू जाडो छल्नका लागि वर्षको करिब पाँच महिना जिल्ला बाहिर जाने गर्दछन्। मुस्ताङका अन्य चारवटा स्थानीय तहमा आइतबार बिदा दिने चलन भए तापनि लोमन्थाङले भने आफ्नो विशिष्ट परिस्थितिलाई मध्यनजर गर्दै सेवाग्राहीको हितमा यो कदम चालेको हो। यस निर्णयले सीमित कार्य-सिजनमा विकास निर्माणका कामलाई तीव्रता दिन र नागरिकका प्रशासनिक आवश्यकता छिटोछरितो रूपमा पूरा गर्न मद्दत पुग्ने विश्वास लिइएको छ।
