आज: २०८३ श्रावण ११, सोमबार | Mon, 27, Jul, 2026
FLASH NEWS

प्रधानमन्त्री बालेन शाहले आज संसदमा विभिन्न अध्यादेश पेस गर्ने, यस्तो छ कार्यसूची

परदेशी खबर २०८३ बैशाख २८, सोमबार मा प्रकाशित ( २ महिना अघि) १४७ पाठक संख्या

काठमाडौं– संघीय संसद्को बजेट अधिवेशन आज (सोमबार) देखि सुरु हुँदैछ। दिउँसो २ बजे बस्ने प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले हालै सरकारद्वारा जारी गरिएका विभिन्न महत्वपूर्ण अध्यादेशहरू पेस गर्ने सम्भावित कार्यसूची रहेको छ।

बिज्ञापन (Sponsored)

संसद् सचिवालयका अनुसार बैठकमा प्रधानमन्त्री शाहले ‘सार्वजनिक खरिद (दोस्रो संशोधन) अध्यादेश, २०८३’, ‘सार्वजनिक पदाधिकारीको पदमुक्तिसम्बन्धी विशेष व्यवस्था अध्यादेश, २०८३’ र ‘संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) (पहिलो संशोधन) अध्यादेश, २०८३’ पेस गर्नेछन्।

प्रधानमन्त्रीबाहेक अन्य मन्त्रीहरूले पनि सम्बन्धित मन्त्रालयका अध्यादेशहरू सदनमा प्रस्तुत गर्ने कार्यक्रम छ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण (तेस्रो संशोधन) अध्यादेश, २०८३’ पेस गर्नेछन् भने कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतमले ‘केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८३’ पेस गर्ने कार्यसूची छ।

त्यस्तै, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री प्रतिभा रावलले ‘सहकारी (पहिलो संशोधन) अध्यादेश, २०८३’, स्वास्थ्य तथा जनसंख्यामन्त्री निशा मेहताले ‘स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८३’ र शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलले ‘विश्वविद्यालयसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८३’ पेस गर्ने संसद् सचिवालयले जनाएको छ।

बैठकको सुरुमा सभामुख डोलप्रसाद (डीपी) अर्यालले राष्ट्रपति रामचन्द्र पौडेलबाट प्राप्त अधिवेशन आह्वान र मन्त्रिपरिषद् हेरफेरसम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउनेछन्। साथै, सभामुखले आफ्नो अनुपस्थितिमा बैठकको अध्यक्षता गर्ने सदस्यहरूको मनोनयन गर्ने र प्रतिनिधिसभा नियमावली, २०७९ बमोजिम जारी बाधा अड्काउ फुकाउ आदेश अनुमोदनका लागि पेस गर्ने कार्यक्रम समेत रहेको छ।

प्रतिनिधिसभा र राष्ट्रियसभाको छुट्टाछुट्टै बैठकपछि अपराह्न ४ बजे संघीय संसद्को संयुक्त बैठक बस्नेछ। उक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले आगामी आर्थिक वर्षका लागि सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यक्रम तय गरिएको छ।

 

 

 

 

 

 

karyasuchi-1778470717_page-0001-1778472154-1778474095.jpg