काठमाण्डौ। तमिल फिल्मका चर्चित अभिनेता तथा तमिलगा वेत्री कजगम (टिभिके) का अध्यक्ष थालापति विजय तमिलनाडुको मुख्यमन्त्री नियुक्त भएका छन्। हालै सम्पन्न विधानसभा निर्वाचनमा उनको पार्टीले आवश्यक बहुमत जुटाएपछि राज्यपाल राजेन्द्र अर्लेकरले उनलाई मुख्यमन्त्री नियुक्त गरेका हुन्। विजयको शपथ ग्रहण कार्यक्रम आज आइतबार बिहान १० बजे चेन्नईस्थित नेहरू स्टेडियममा भव्य रूपमा आयोजना गरिँदैछ। मुख्यमन्त्री नियुक्त भएसँगै उनले आगामी १३ मेभित्र विधानसभामा विश्वासको मत लिनुपर्ने संवैधानिक बाध्यता रहेको छ।
सरकार गठनको दाबी पेश गर्न विजय समर्थन पत्रसहित राज्यपाललाई भेट्न लोक भवन पुगेका थिए। उनलाई विदुथलाई चिरुथैगल कच्ची (भीसीके) र इन्डियन युनियन मुस्लिम लिग (आईयूएमएल) लगायतका दलहरूले समर्थन गरेका छन्। यसअघि नै कांग्रेस, भारतीय कम्युनिस्ट पार्टी (सीपीआई) र भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) ले पनि टिभिकेलाई समर्थन गर्ने घोषणा गरिसकेका थिए। २३४ सदस्यीय तमिलनाडु विधानसभामा विजयको पार्टी टिभिकेले १०८ सिट जितेको थियो। विजय आफैँ दुई क्षेत्रबाट निर्वाचित भएकाले एक सिट छाड्दा पार्टीको संख्या १०७ मा झर्नेछ। बहुमतका लागि ११७ सांसद आवश्यक पर्नेमा सहयोगी दलहरूको साथले विजयको पक्षमा १२१ सिट पुगेको छ।
सन् २०२४ मा मात्रै राजनीतिक दल स्थापना गरेका विजयले मात्र दुई वर्षको छोटो अवधिमा सत्ताको बागडोर सम्हाल्ने सफलता पाएका हुन्। निर्वाचनमा कुनै पनि ठूला दलसँग गठबन्धन नगरी एक्लै मैदानमा उत्रिएका उनले ‘सिठ्ठी’ लाई आफ्नो चुनावी अभियानको मुख्य प्रतीक बनाएका थिए। उनले सत्तारुढ डीएमकेलाई ‘खराब शक्ति’ र भाजपालाई ‘वैचारिक शत्रु’ को संज्ञा दिँदै परिवर्तनको नारा दिएका थिए। सन् १९७४ मा चेन्नईमा जन्मिएका विजय प्रसिद्ध निर्देशक एस.ए. चन्द्रशेखरका छोरा हुन्। बाल कलाकारबाट फिल्मी करिअर सुरु गरी ‘गिल्ली’, ‘मर्सल’ र ‘कथी’ जस्ता सुपरहिट फिल्ममार्फत ‘थालापति’ (कमाण्डर) को छवि बनाएका उनी अब पर्दाको नायकबाट वास्तविक जीवनको जननायकका रूपमा उभिएका छन्।
यद्यपि, विजयको सत्ता आरोहणसँगै राजनीतिक विवाद पनि सुरु भएको छ। एएमएमकेका महासचिव टीटीभी दिनाकरनले आफ्ना विधायकलाई फकाउन खोजेको भन्दै राज्यपालसमक्ष उजुरी दिएका छन्। उनले सार्वजनिक भएको एउटा भिडियोलाई नक्कली दाबी गर्दै यसमा विजयको संलग्नता रहेको आरोप लगाएका छन् र कानुनी उपचारमा जाने चेतावनी दिएका छन्। यी चुनौतीका बीच आज हुने शपथ ग्रहणलाई तमिलनाडुको राजनीतिमा एक ऐतिहासिक मोडका रूपमा हेरिएको छ।
