कुवेत। खोटाङको बाराहापोखरी गाउँपालिका-१ निवासी ७२ वर्षीय प्रेमबहादुर मगरको उपचारका लागि खोटाङ कुवेत सम्पर्क मञ्च (खोकुसम) ले आर्थिक सहयोग प्रदान गरेको छ। विगत ३ महिनादेखि पक्षघात (प्यारालाइसिस) का कारण ओछ्यान परेका मगरको उपचारमा सहयोग पुर्याउन मञ्चले ९४ हजार ३३४ रुपैयाँ उपलब्ध गराएको हो। उच्च रक्तचापका कारण टाउकोको नसा सुकेर शरीरको दायाँ भाग नचल्ने भएपछि लामो समयदेखि उपचाररत मगरको परिवारको आर्थिक अवस्था कमजोर हुँदै गएपछि संस्थाले यो पहलकदमी लिएको हो।
गत २०८३ वैशाख २५ गते (८ मे २०२६) शुक्रबारका दिन कुवेतको साल्मियास्थित एसियन चुलो नेपाली रेस्टुरेन्टमा बसेको मञ्चको २४औं मासिक बैठकले पीडित परिवारलाई आर्थिक सहयोग गर्ने सर्वसम्मत निर्णय गरेको थियो। अध्यक्ष विष्णुप्रसाद भट्टराईको अध्यक्षतामा बसेको उक्त बैठकको निर्णय बमोजिम संकलित रकम पीडितकी छोरी शान्तिकला मगर (बिष्ट) लाई हस्तान्तरण गरिएको छ। संस्थाले पारदर्शिताका लागि सहयोग रकमको रसिद र तस्बिर समेत सार्वजनिक गरेको छ।
पीडित मगरको जायजेथा र आयस्रोत उपचारकै क्रममा सकिएपछि स्थानीय पालिकाले समेत सहयोगका लागि अपील जारी गरेको थियो। सोही मानवीय संवेदनालाई मध्यनजर गर्दै मञ्चले “शरीर परदेशमा भए पनि मन खोटाङमै छ” भन्ने भावनाका साथ यो सहयोग जुटाएको हो। हाल मगरलाई थप उपचारका लागि भारत लैजानुपर्ने आवश्यकता रहेकाले मञ्चले अन्य इच्छुक वैदेशिक दाताहरूलाई पनि सहयोगका लागि हार्दिक अनुरोध गरेको छ। यसअघि पनि जिल्लाका विभिन्न पीडितहरूलाई सहयोग गर्दै आएको खोटाङ कुवेत सम्पर्क मञ्चले आगामी दिनमा पनि यस्ता सामाजिक कार्यलाई निरन्तरता दिने प्रतिबद्धता जनाउँदै बिरामीको शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ।



