आज: २०८३ श्रावण ११, सोमबार | Mon, 27, Jul, 2026
FLASH NEWS

अग्रज नेताहरूलाई समेटेर पार्टीलाई एकताबद्ध बनाउँछौं : उपसभापति विश्वप्रकाश शर्मा

परदेशी खबर २०८३ बैशाख २६, शनिबार मा प्रकाशित ( २ महिना अघि) १३६ पाठक संख्या

नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले पार्टीका अग्रज नेताहरूलाई सम्मानजनक रूपमा साथमै लिएर अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरेका छन्। सुदूरपश्चिम प्रदेशको राजधानी धनगढीमा आयोजित ‘प्रदेश र स्थानीय तह केन्द्रित प्रदेश स्तरीय भेला’लाई सम्बोधन गर्दै शर्माले पार्टीभित्रका पुराना र अनुभवी नेताहरूको त्यागलाई कदर गर्दै नयाँ पुस्तासँगै यात्रा गराउने बताएका हुन्।

बिज्ञापन (Sponsored)

सम्बोधनका क्रममा शर्माले विशेषगरी सुदूरपश्चिमका अग्रज नेताहरूतर्फ लक्षित गर्दै भने, “आज गगनजी, म वा अन्य साथीहरूको जति उमेर छ, त्यति समय राजनीतिमा बिताइसक्नुभएका नेताहरू हुनुहुन्छ। हामी ती सबै अग्रजहरूलाई सँगसँगै यात्रामा लैजान चाहन्छौं। नेतृत्वले कसैप्रति पनि पूर्वाग्रह राख्नु हुँदैन भन्नेमा हामी स्पष्ट छौं।” उनले नयाँ नेतृत्व आएपछि कुनै पनि साथीलाई विचार, समूह वा अन्य कुनै आधारमा विभेद नगरिने र सबैलाई अपनत्व महसुस गराइने विश्वास दिलाए।

पार्टी सुदृढीकरणका लागि आन्तरिक एकता अनिवार्य रहेको औंल्याउँदै शर्माले हरेक मुद्दामा वैचारिक स्पष्टता र प्रखरताका साथै संयम पनि आवश्यक रहेको बताए। उनले कांग्रेसलाई बलियो बनाउन एक-अर्कालाई स्वीकार गर्ने फराकिलो हृदय लिएर अगाडि बढ्न कार्यकर्ताहरूलाई आग्रह गरे। गत निर्वाचनमा कांग्रेसको पक्षमा आएको जनमतको चर्चा गर्दै उनले १७ लाख मत लोकतान्त्रिक पद्धति र कांग्रेसको भविष्यका लागि ठूलो शक्ति भएको जिकिर गरे।

वर्तमान सत्ता समीकरण र सरकारका बारेमा टिप्पणी गर्दै उपसभापति शर्माले सरकारले संविधान र लोकतान्त्रिक मूल्य-मान्यताको पालना गरुन्जेल मात्र कांग्रेसको साथ र समर्थन रहने स्पष्ट पारे। सरकारका हालैका गतिविधिहरू लोकतान्त्रिक पद्धति र देशको समग्र अग्रगतिका विरुद्ध देखिएको भन्दै उनले सरकारका कदमप्रति प्रश्न समेत उठाए। संविधानको परिधिभित्र रहेर काम नगरे कांग्रेसले सरकारलाई खबरदारी गरिरहने उनको भनाइ थियो।