सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्री कवीन्द्र बुर्लाकोटीले प्रधानन्यायाधीश नियुक्तिको सिफारिसमा वरिष्ठताभन्दा योग्यता र क्षमतालाई प्राथमिकता दिइएको स्पष्ट पार्नुभएको छ। ललितपुरको जावलाखेलस्थित स्टाफ कलेजमा आयोजित पार्टीका सांसदहरूको प्रशिक्षण कार्यक्रममा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उहाँले न्यायालयमा नयाँपन र सुधारका लागि स्थापित परम्पराभन्दा माथि उठ्नुपर्ने आवश्यकता औँल्याउनुभयो।
पछिल्लो समय संवैधानिक परिषद्ले न्यायाधीश मनोज शर्मालाई प्रधानन्यायाधीशमा सिफारिस गरेपछि वरिष्ठताको क्रम मिचिएको भन्दै भइरहेको आलोचनाप्रति टिप्पणी गर्दै महामन्त्री बुर्लाकोटीले भन्नुभयो, “यदि हामीले विगतका पुराना परम्परा र शैलीलाई मात्रै निरन्तरता दिइरहने हो भने मुलुकमा परिवर्तन सम्भव हुँदैन।” उहाँले संवैधानिक परिषद्को निर्णय परिवर्तनको पक्षमा रहेको र यसले न्यायालयलाई थप गतिशील बनाउने विश्वास व्यक्त गर्नुभयो।
परम्परा तोड्नुलाई नकारात्मक रूपमा मात्र हेर्न नहुने तर्क गर्दै बुर्लाकोटीले योग्य व्यक्तिलाई जिम्मेवारी दिनु नै परिवर्तनको पहिलो खुड्किलो भएको जिकिर गर्नुभयो। २४ वैशाखमा बसेको संवैधानिक परिषद्को बैठकले शर्मालाई प्रधानन्यायाधीशमा सिफारिस गर्ने निर्णय गरेको थियो, जसलाई रास्वपाले संस्थागत रूपमै न्यायलय सुधारको प्रयासका रूपमा समर्थन गरेको देखिएको छ।
