आज: २०८३ श्रावण ११, सोमबार | Mon, 27, Jul, 2026
FLASH NEWS

विधिको शासन र नागरिक अधिकारप्रति न्यायपालिका प्रतिबद्ध छ: कामु प्रधानन्यायाधीश मल्ल

परदेशी खबर २०८३ बैशाख २६, शनिबार मा प्रकाशित ( २ महिना अघि) ९६ पाठक संख्या

काठमाडौं– सर्वोच्च अदालतका कायम मुकायम प्रधानन्यायाधीश सपना प्रधान मल्लले संवैधानिक सर्वोच्चता, स्वतन्त्र न्यायपालिका र विधिको शासनको कार्यान्वयनप्रति न्यायपालिका सदैव अडिग रहेको बताएकी छन्। ७४औँ कानुन दिवसका अवसरमा शुभकामना सन्देश जारी गर्दै उनले नागरिकका मौलिक हक र मानव अधिकारको संरक्षण गर्दै न्यायपूर्ण समाजको स्थापना गर्न न्यायपालिका निरन्तर क्रियाशील रहेको उल्लेख गरेकी हुन्।

बिज्ञापन (Sponsored)

कामु प्रधानन्यायाधीश मल्लले न्यायपालिकाको सुधार कुनै एउटा निकायको मात्र विषय नभई यो राज्यका सबै अंगहरूको साझा दायित्व भएको स्पष्ट पारेकी छन्। न्याय क्षेत्रको सुदृढीकरणका लागि न्यायाधीश, सरकारी वकिल, कानुन व्यवसायी र कर्मचारीलगायत सबै सरोकारवाला निकायबीचको समन्वय र एकजुट प्रयास अपरिहार्य रहेको उनको भनाइ छ। उनले वर्तमान परिस्थितिमा विचलित नभई संविधानले परिकल्पना गरेको लक्ष्य प्राप्तिमा लाग्न सबैलाई सकारात्मक ऊर्जा मिल्ने विश्वास समेत व्यक्त गरेकी छन्।

न्यायिक सुधारलाई संस्थागत गर्न न्यायपालिकाले विसं २०६१ देखि रणनीतिक योजनाबद्ध रूपमा काम गरिरहेको स्मरण गराउँदै उनले हाल पाँचौँ पञ्चवर्षीय रणनीतिक योजना कार्यान्वयनको चरणमा रहेको जानकारी दिइन्। आर्थिक वर्ष २०८१-८२ को प्रगति विवरणले उत्साहजनक नतिजा देखाएको उल्लेख गर्दै उनले ती उपलब्धिहरूको संरक्षण र सुधार प्रक्रियालाई थप प्रभावकारी बनाउन न्यायपालिका दृढ रहेको बताइन्। नेपाल प्रधान न्यायालय ऐन, २००८ विसं २००९ साल वैशाख २६ गतेदेखि लागू भएको ऐतिहासिक दिनको स्मरणमा हरेक वर्ष आजकै दिन देशभर कानुन दिवस मनाउने गरिन्छ।