आज: २०८३ श्रावण ११, सोमबार | Mon, 27, Jul, 2026
FLASH NEWS

रास्वपाको प्रशिक्षणमा सांसदको न्यून उपस्थिति: उपनेता पराजुलीद्वारा ‘मूल्यांकन हुने’ चेतावनी

परदेशी खबर २०८३ बैशाख २६, शनिबार मा प्रकाशित ( २ महिना अघि) ११८ पाठक संख्या

काठमान्डौ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना सांसदहरूको क्षमता अभिवृद्धिका लागि ललितपुरको जावलाखेलमा आयोजना गरेको दुई दिने विशेष प्रशिक्षण कार्यक्रममा सांसदहरूको न्यून उपस्थिति देखिएको छ। आजदेखि सुरु भएको कार्यक्रमको उद्घाटन सत्रमा सांसदहरूको पातलो उपस्थिति देखेपछि संसदीय दलका उपनेता गणेश पराजुलीले खुला रूपमा असन्तुष्टि व्यक्त गर्नुभएको छ।

बिज्ञापन (Sponsored)

कार्यक्रमलाई सम्बोधन गर्दै उपनेता पराजुलीले संसदीय दलबाट निरन्तर सूचना प्रवाह गर्दा पनि सांसदहरू उपस्थित नहुनुलाई गम्भीरतापूर्वक लिइने बताउनुभयो। उहाँले पार्टीले सांसदहरूको क्षमता विकासका लागि आयोजना गरेको यस्ता महत्त्वपूर्ण सत्रहरूलाई कम प्राथमिकता दिएर अन्य व्यक्तिगत काममा लाग्नु संसदीय भूमिकाबाट विमुख हुने प्रयास भएको टिप्पणी गर्नुभयो। “संसदीय भूमिकाबाट विमुख हुने यस्ता प्रयासलाई पार्टी र संसदीय दलको तर्फबाट उचित मूल्यांकन गरिनेछ,” पराजुलीले चेतावनीको शैलीमा भन्नुभयो।

उहाँले यो प्रशिक्षण कार्यक्रम केवल औपचारिकता मात्र नभई आत्ममूल्यांकन, अनुभव आदान–प्रदान र नयाँ राजनीतिक संस्कार निर्माण गर्ने एउटा ठूलो अवसर भएकोमा जोड दिनुभयो। जनताले नयाँ अनुहारसँगै नयाँ सोच र परिणाममुखी राजनीतिको अपेक्षा गरेको उल्लेख गर्दै उहाँले राजनीति अब नाराले मात्र नभई क्षमता, तयारी र अध्ययनले चल्ने स्पष्ट पार्नुभयो।

सुशासन, पारदर्शिता र जवाफदेहितालाई मूल आधार मानेको रास्वपाले आगामी दिनमा पनि यस्ता प्रशिक्षण सत्रहरूलाई निरन्तरता दिने जानकारी दिँदै उपनेता पराजुलीले सांसदहरूलाई थप जिम्मेवार र जनमुखी बन्न आग्रह गर्नुभयो। भोलिसम्म चल्ने यस प्रशिक्षणमा संसदीय प्रक्रिया, नीति निर्माण र जनताका मुद्दालाई संसदमा प्रभावकारी रूपमा उठाउने विषयमा विज्ञहरूले प्रशिक्षण दिने कार्यक्रम रहेको छ।