आज: २०८३ श्रावण ११, सोमबार | Mon, 27, Jul, 2026
FLASH NEWS

उदयपुरमा तीन महिनामा २९ घरेलु हिंसाका उजुरी दर्ता, अधिकांशमा मिलापत्र

परदेशी खबर २०८३ बैशाख २४, बिहिबार मा प्रकाशित ( २ महिना अघि) ११० पाठक संख्या

उदयपुर: जिल्ला प्रहरी कार्यालय उदयपुरमा पछिल्लो तीन महिनाको अवधिमा घरेलु हिंसाका २९ वटा उजुरी दर्ता भएका छन्। २०८२ सालको माघदेखि चैत मसान्तसम्मको तथ्याङ्क अनुसार जिल्लामा घरेलु हिंसाका घटनाहरू अझै पनि चुनौतीका रूपमा देखिएका छन्।

बिज्ञापन (Sponsored)

प्रहरीको विवरण अनुसार माघ महिनामा १४, फागुनमा ८ र चैतमा ७ वटा उजुरी दर्ता भएका हुन्। दर्ता भएका कूल २९ उजुरीमध्ये १९ वटामा आपसी मिलापत्र गराइएको छ भने १० वटा उजुरीमाथि आवश्यक प्रक्रिया बाँकी रहेको छ। यी घटनामा २९ जना पीडित र ३० जना पीडक संलग्न रहेको प्रहरीले जनाएको छ। विशेषगरी महिला, बालबालिका तथा ज्येष्ठ नागरिकहरू यस्ता हिंसाबाट बढी प्रभावित हुने गरेको पाइएको छ।

स्थानीय तहका टोल विकास संस्थाहरू र प्रहरीले सचेतनाका कार्यक्रमहरू सञ्चालन गरिरहेको भए तापनि सामान्य विवादका कारण हुने हिंसाका घटनाहरू रोकिन सकेका छैनन्। प्रहरीका अनुसार गाउँपालिकाको तुलनामा नगरपालिका क्षेत्रमा यस्ता उजुरीहरू बढी पर्ने गरेका छन्। सडक नाटक, गोष्ठी र प्रचारप्रसार जस्ता जनचेतनाका कार्यले विगतको तुलनामा घटनामा केही कमी आएको प्रहरीको दाबी छ।

यसैगरी, सोही अवधिमा जिल्ला प्रहरी कार्यालयमा २ सय ६३ वटा ठाडो उजुरी दर्ता भएका छन्। जसमध्ये २ सय ४५ वटामा मिलापत्र भइसकेको छ भने १८ वटामा अनुसन्धान जारी छ। त्यस्तै, जिल्ला प्रशासन कार्यालयबाट कारबाहीका लागि पठाइएका २५ उजुरीमध्ये १९ वटामा छानबिन पश्चात मिलापत्र भएको र ६ वटा बाँकी रहेको प्रहरीले जनाएको छ।