आज: २०८३ श्रावण ११, सोमबार | Mon, 27, Jul, 2026
FLASH NEWS

कम्बोडियामा अलपत्र ६३ नेपालीको उद्धारका लागि राजदूतावासद्वारा यात्रा अनुमति पत्र जारी

परदेशी खबर २०८३ बैशाख २३, बुधबार मा प्रकाशित ( २ महिना अघि) १४८ पाठक संख्या

काठमाण्डौ। थाइल्याण्डको बैंककस्थित नेपाली राजदूतावासले कम्बोडियामा अलपत्र परेका ६३ जना नेपाली नागरिकहरूका लागि एकतर्फी यात्रा अनुमति पत्र (ट्राभल डकुमेन्ट) तयार गरी पठाएको छ। दूतावासले सोमबार बेलुकासम्म अनलाइन फाराम भर्ने व्यक्तिहरूको विवरणका आधारमा उक्त कागजात तयार पारेको हो। बुधबार बेलुकासम्म विवरण बुझाउने अन्य व्यक्तिहरूको डकुमेन्ट पनि बिहीबार नै पठाइने दूतावासले जानकारी दिएको छ। यसअघि पनि दूतावासको समन्वयमा वैशाख १ गतेसम्म ४६ जना नेपालीलाई उद्धार गरी स्वदेश फिर्ता पठाइसकिएको थियो।

बिज्ञापन (Sponsored)

कम्बोडिया सरकारले पछिल्लो समय अनलाइन स्क्यामिङ जस्ता अन्तरदेशीय अपराध नियन्त्रण गर्न कडा कानुन लागू गरेको छ। नयाँ नियमअनुसार यस्ता गतिविधिमा संलग्न हुनेलाई ५ लाख अमेरिकी डलरसम्म जरिवाना र आजीवन कैदसम्मको सजाय हुन सक्ने व्यवस्था गरिएको छ। विभिन्न प्रलोभनमा परी भिजिट भिसामा कम्बोडिया पुगेका नेपालीहरू अवैध अनलाइन स्क्यामिङ केन्द्र र क्यासिनोहरूमा शोषणमा पर्ने गरेको पाइएपछि दूतावासले उद्धार कार्यलाई तीव्रता दिएको हो।

राजदूतावासले एक विशेष अपिल जारी गर्दै आकर्षक तलबको प्रलोभनमा परी पर्यटकीय भिसामा रोजगारीका लागि कम्बोडिया नजान र गैरकानुनी गतिविधिमा संलग्न नहुन सचेत गराएको छ। भिसाको अवधि सकिएर पनि लुकिछिपी बस्दा गम्भीर कानुनी जोखिम हुने भन्दै दूतावासले वैदेशिक रोजगार विभागबाट अनिवार्य श्रम स्वीकृति लिएर मात्र विदेश जान आग्रह गरेको छ। साथै, आफूलाई ठगी गर्ने वा प्रलोभनमा पारेर कम्बोडिया पुर्‍याउने व्यक्तिविरुद्ध नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोमा उजुरी दिन समेत सूचित गरिएको छ।

पछिल्ला वर्षहरूमा कम्बोडिया जाने नेपालीहरूको सङ्ख्यामा उल्लेख्य वृद्धि भएको तथ्याङ्कले देखाउँछ। सन् २०२१ मा जम्मा १०१ जना नेपालीले कम्बोडिया भ्रमण गरेकोमा सन् २०२५ सम्म आइपुग्दा यो सङ्ख्या ९ हजार ६ सय ७६ पुगेको छ। यसरी ठुलो सङ्ख्यामा नेपालीहरू भिजिट भिसामा जाने र पछि अलपत्र पर्ने क्रम बढेपछि सरकारले कन्सुलर सेवा विभाग र राजदूतावासमार्फत विशेष निगरानी र समन्वय गरिरहेको छ।