काठमान्डौ। श्रम संस्कृति पार्टीका अध्यक्ष एवं प्रतिनिधिसभा सदस्य हर्क साम्पाङ राईले प्रधानमन्त्री बालेन्द्र शाहसमक्ष राष्ट्रियता, जनजीविका र सुशासनका विषयमा केन्द्रित रहेर कडा प्रश्नहरू तेर्स्याएका छन्। साम्पाङले सामाजिक सञ्जालमार्फत लिपुलेक सीमा विवाद, सुकुम्बासी व्यवस्थापन र बजेट निर्माणको कार्यशैलीलाई लिएर १० बुँदे प्रश्न सार्वजनिक गर्दै सरकारको ध्यानाकर्षण गराएका हुन्।
उनले नेपालको लिपुलेक क्षेत्र हुँदै भारतले कैलाश मानसरोवर जाने बाटो बनाइरहँदा सरकार मुकदर्शक बनेको भन्दै कडा आलोचना गरेका छन्। दार्चुलाको दुम्लिङसम्म आफ्नै बाटो पुर्याउन नसक्ने सरकारले सीमा नदी महाकाली मिचेर भारतले संरचना बनाउँदा समेत नरोकेको उनको आरोप छ। ‘एउटा कूटनीतिक नोट पठाएर कर्मकाण्डी औपचारिकता मात्र पूरा गरेर हुन्छ?’ भन्दै साम्पाङले चीन, भारत, नेपाल र संयुक्त राष्ट्रसंघ (यूएन) सम्मिलित चौपक्षीय वार्ता टोली बनाएर सीमा जोगाउन माग गरेका छन्।
सेनाको भूमिकामाथि प्रश्न उठाउँदै साम्पाङले भनेका छन्, ‘सेनालाई मन्त्रीको गाडीको ढोका खोल्न वा व्यक्तिगत पालेको रूपमा राख्ने होइन, सीमा रक्षकको रूपमा सिमानामा खटाउनुपर्छ। सुकुम्बासी बस्ती भत्काउन डोजर र सुरक्षाकर्मी लैजानुको साटो सिमाना मिचिएको ठाउँमा पठाउनुहोस्।’ उनले सुकुम्बासी बस्तीमा व्यस्त डोजरहरूलाई रोशीखोलालगायत बाढीग्रस्त क्षेत्रको विपद् व्यवस्थापनमा परिचालन गर्न सुझाएका छन्।
देशको खस्कँदो अर्थतन्त्र र बढ्दो विदेशी ऋणप्रति चिन्ता व्यक्त गर्दै साम्पाङले आर्थिक सुधार गर्न नसक्ने भए राजीनामा दिएर मार्ग प्रशस्त गर्न प्रधानमन्त्रीलाई चुनौती दिएका छन्। गरिबको बास भत्काएर न्याय नहुने तर्क गर्दै उनले सबैको चित्त बुझाएर समाधान खोज्नुपर्ने बताएका छन्। साथै, बजेट निर्माण प्रक्रियामा सबै पार्टीका सांसदहरूका क्षेत्रगत समस्यालाई सम्बोधन गर्नुपर्ने र राज्यको ढुकुटी न्यायोचित वितरण हुनुपर्ने उनको माग छ।
अन्तमा, साम्पाङले प्रधानमन्त्रीलाई जनता र पत्रकारका प्रश्नहरूबाट नभाग्न आग्रह गरेका छन्। सरकारले के गर्दै छ भन्ने जानकारी पाउने जनताको अधिकार भएको स्मरण गराउँदै उनले पारदर्शी र जवाफदेही बन्न प्रधानमन्त्री शाहलाई सचेत गराएका छन्।

